काठमाडौँको रत्नपार्क र खुलामञ्च क्षेत्रलाई अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले शनिबार अकुपाई टुँडिखेल अभियान अन्तर्गत पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईदेखि सञ्चारकर्मी रवि लामिछानेसम्मले मानव साङ्लो बनाएर घेर्ने कार्यक्रममा सहभागी भएर विरोध जनाएका छन्।
विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँंडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान मानव साङ्लो बनाएर घेर्रे कार्यक्रम आयोजना गरेको थियो। जसमा पूर्व मन्त्रीहरु भिमसेनदास प्रधान, हिसिला यमी, कांग्रेसका युवा नेता गगन थापा, उपमेयर हरिप्रभा खड्गी, शिक्षाविद् केदारभक्त माथेमा, गायक योगेश्वर अमात्य, सञ्चारकर्मी, अन्य कलाकारहरुको समेत बाक्लो सहभागिता रहेको थियो।
उनीहरुले काठमाण्डौं महानगरपालिका र सरकारको संलग्नतामा नै टुँडिखेलको अतिक्रमण भएको भन्दै संरक्षणको माग गर्दै सरकारलाई दबाब दिएका हुन्। अभियन्ताहरुले नेपालको राष्ट्रिय झण्डा लिएर अभियानमा सहभागिता जनाएका थिए। उनीहरुले सार्वजनिक ठाउँलाई व्यवसायिक रुपमा प्रयोग गरेकोमा सरकार र महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको निर्णयको विरोध गरेका थिए।
अभियन्ताहरुले टुँडिखेल कसको बिर्ता? अब लिनेछ जनताले फिर्ता, ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘ पुर्खाको नासो जनताको हक ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाएर घेरिएको यो कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने बताइएको छ।
प्रतिक्रिया