इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको सैन्य सम्मानका साथ बुधबार अन्त्यष्टि गरिएको छ। मङ्गलबार ९१ जर्षको उमेरमा निधन भएका मुवाराकको शव निधन भएको ठाउँबाट अन्त्यष्टि गर्ने ठाउँमा हेलिकोप्टरमार्फत ल्याइएको थियो।
छिमेकी न्यू कायरोमा उनको अति सघन कक्षमा राखेर उपचार गरिरहेकै बेला अस्पतालमै निधन भएको थियो। उनको निधनप्रति स्वदेशी तथा अन्तर्राष्ट्रिय धेरै नेताहरूले दुःख व्यक्त गर्दै उनलाई विभिन्न तरिकाले स्मरण गरेका छन् ।
करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्यूत गरिएको थियो।
इजिप्टका पूर्वराष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बन्नुभएको थियो । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्यूत गरिएको थियो।
उनलाई सरकारविरुद्ध भएको जनप्रदर्शनको क्रममा सयौं निर्दोष व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो। त्यो अभियोगबाट अदालतले सफाइ दिएपछि उनी सन् २०१७ को मार्चमा रिहा भएका थिए।
सन् १९२८ मा मुनोफियामा जन्मनु भएका मुवारक किशोर अवस्थामा वायुसेनाको जागिर खाएका थिए। विद्रोही र हक्की स्वभावका मुवारक अनेक सङ्घर्षका साथ लामो समय शासक बनेका थिए।
प्रतिक्रिया