भारतीय शेयर बजारमा तीब्र उच्च उतार-चढाव, एकै दिनमा ३०९० अंकले घटेर ४७१५ अंक बढ्यो

0
Shares

पछिल्ला दिनहरुमा निरन्तर ओरालो लागेको भारतीय शेयर बजार शुक्रबार बन्द हुँदा भने सुधार आएको छ। शुक्रबार कारोबारको सुवातीमा सुरुवाती चरणमा नकारात्मक सर्किट लगाउनुपर्ने गरी घटेको भएपनि कारोबार बन्द हुँदा १ हजार ३२५ दशमलव ३४ अंकले बढेर बन्द भएको छ ।

शुक्रबार मुम्बइ स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स कारोबारको सुरुवाती चरणमा करिब ३ हजार ९० अंकले घटेको थियो । कारोबार सुरु भएको केही समयमा नै १०.३४ प्रतिशतले घटेपछि सेन्सेक्समा सर्किट प्रयोग भएको थियो। सो सर्किटका कारण ४५ मिनेटका लागि कारोबार स्थागन भएको थियो । सर्किटका कारण स्थगन भएको शेयर कारोबार पुन सुरु भएपछि भने सुधारको गति लिएको थियो।

अमेरिकाले विश्वभर फैलिएको कारोना भाइरलाई नियन्त्रण गर्नका लागि विशेष योजना ल्याएपछि विश्वभरिका शेयर बजारमा सुधारको संकेत देखिएको हो।

सेनसेक्समा आएको जस्तो गिरावट नेशनल स्टक एक्सचेन्ज निफ्टीमा पनि देखिएको थियो। कारोबारको पहिलो चरणमा १०.७९ प्रतिशतले घटेको निफ्टीमा पनि नकारात्मक सर्किट लागेपछि कारोबार स्थगन गर्नु परेको थियो । सर्किटका कारण करिब ४५ मिनेट कारोबार रोकिएपछि पुन खुलेको निफ्टीको शेयर कारोबार सकारात्मक दिशा उन्मुख भयो ।

सर्किटपछि खुलेको सेनसेक्स परिसूचक ६.०७ प्रतिशतले बढ्यो भने निफ्टी ५.९४ प्रतिशतसम्मले बढेको थियो। तर, कारोबारको अन्तिम समयसम्ममा आइपुग्दा भने सेनसेक्स १ हजार ३२५ दशमलव ३४ अंकले बढेर ३४ हजार १०३ दशमलव ४८ अंकमा पुगेर बन्द भएको छ । त्यसैगरी निफ्टी पनि ४३३ दशमलव ५० अंकले बढेर १० हजार २३ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ। शुक्रबार सेन्सेक्समा सूचीकृत अधिकाशं कम्पनीको शेयरमूल्य बढेको छ।

एशियाका शेयर बजार मध्ये चीनको साघांई कम्पोजिट १.२३, हङकङको ह्याङसेङ १.१४, दक्षिण कोरियाको कास्पी ३.४३ र जापानको निक्की ६.०८ प्रतिशतले घटेका छन् भने युरोपेली शेयर बजार ४ प्रतिशतसम्मले बढेका छन् ।