नेप्सेको कारोबार समय एक घण्टा थप, परिक्षणका लागि आइतबार देखि नै लागू हुने

Bhuban Poudel
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दैनिक कारोबार समय एक घण्टा थप गरेको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले आइतबार देखि परिक्षणका लागि दैनिक कारोबार समय ५ घण्टा बनाउने भएको हो ।

नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विस्तार तथा लगानीकर्ताको हितका लागि दैनिक कारोबार समय एक घण्टा थप गरेको जनाएको छ।

कारोबार समय छोटो भएकाले पनि शेयर बजारमा अस्वभाविक चलखेल बढेको हुनाले त्यसलाई कम गर्न पनि कारोबार समय बढाउनु परेको बोर्डले जनाएको छ।

नेप्सेमा दैनिक ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार हुँदै आएकोमा आइतबार देखि ११ बजेदखि ४ बजेसम्म शेयर किनबेच गर्न सकिनेछ। नेप्सेमा आइतबार देखि बिहीबारसम्म कारोबार हुने गरेको छ।

सार्वजनिक विदाका दिन बाहेक नेप्सेमा एक सातामा ५ दिन शेयर किनबेच हुन्छ । नयाँ व्यवस्था लागू भएपछि धितोपत्र बोर्डको अर्को सूचना नआएसम्मका लागि दैनिक कारोबार समय ५ घण्टा हुनेछ। अहिले परिक्षण अवधिमा रहेको हुनाले दिर्घकालीन रुपमा यो व्यवस्था लागू हुनका लागि धितोपत्र बोर्डको पुन: अर्को निर्देशन पछि मात्र परिक्षणकाल समाप्त गरी पूर्ण रुपमा दैनिक ५ घण्टा कारोबार हुनेछ।

आइतबार देखि नेप्सेमा प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट पछि सुरु हुनेछ । ११ बजे नेप्सेको नियमित कारोबार हुनेछ भने ४ बजे पनि नियमित कारोबार बन्द भई ५ मिनेट मात्र अन्तिम कारोबार हुनेछ।

यसरी नेप्सेको कारोबार प्रणाली बिहान साढे १० बजेदेखि साँझ ४ बजेर ५ मिनेसम्म खुल्नेछ। तर, यो सबै समयमा एकै प्रकृतिको कारोबार मात्र भने नहुने नेप्सेले जनाएको छ ।