विश्वभरी फैलिरहेको कोरोना भाइरसको त्रासले भारतीय शेयर बजारमा लगानी गरेका अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताले शेयर बिक्री गरेका छन्। अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता शेयर बिक्री गर्न थालेपछि बजार सूचकहरु निरन्तर अस्वभाविक रुपमा घटेका हुन्।
कोरोनाका कारणले विश्व अर्थतन्त्र प्रभावित हुने भन्दै अन्तर्राष्ट्रिय संस्थागत लगानजीकर्तामा शेयर बिक्री गरेर पैसा फिर्ता लैजान थालेपनि भारतीय पूँजी बजार झनै प्यानिक बन्दै गएको हो।
अमेरिकी पूँजी बजार पनि प्यानिक बन्दै गएपछि भारतीय शेयर बजार थप प्रभावित भएको हो। भारतीय शेयर बजारमा लगानी गरेका अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताले पछिल्लो महिनामा मात्र ३८२ अर्ब भारुको शेयर बिक्री गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बुधबार १ हजार ७०९ अंकले घटेको बम्बई स्टक एक्सचेञ्ज परिसूचक सेनसेक्स बिहीबार पनि ५८१ दशमलव २८ अंकले घटेको छ। त्यसैगरी बुधबार ४२५ अंकले घटेको नेशनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी १९९ दशमलव १० अंकले घटेको हो। शेयर बजारमा अस्वभाविक गिरावट आएपछि सूचीकृत कम्पनीहरुले शेयर ‘बाइ ब्याक’ गर्ने निर्णय गर्दा समेत सुधारको संकेत देखिएको छैन।
बिहीबार सेनसेक्स २८ हजार २८८ दशमलव २३ अंकमा पुगेको छ भने निफ्टी ८२६९.७० अंकमा झरेको छ। सेन्सेक्समा सूचीकृत ३० कम्पनी मध्ये धेरैको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया