एफएनसीसीआई निर्वाचन प्रमुखको एकलौटी निर्णय, उम्मेदवारको नामावलीमा निर्वाचन अधिकृतकै ‘नोट अफ डिसेन्ट’

Bhuban Poudel
0
Shares

नेपाल उद्योग वाणिज्य संघको आगामी ११ देखि १३ गतेसम्म हुने भनिएको नयाँ कार्यसमिति चयनको साधारणसभामा निर्वाचन कमिटिकै कारणले विवादमा तानिने भएको छ । महासंघको निर्वाचन कार्यक्रमका दौरानमा निर्वाचन कमिटीले विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरेपछि समस्या जटिल बन्दै गएको हो ।

महासंघको निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बाग्मति प्रदेशकातर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेको छ ।
महासंघको साधारण सभामा बर्दिवास उद्योग वाणिज्य संघले पहिलो पटक सहभागिता जनाउँदैछ । महासंघको नियमावलीले नयाँ सदस्यलाई एक पटक महासंघको साधारण सभामा सहभागि भए पछि अर्को पटकदेखि मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ । महासंघको नियमावली २०६३ अनुसार कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार खडा गर्न चाहने सदस्यले कमसेकम अगाडीको कुनै एउटा वार्षिक साधारण सभामा भाग लिइसकेको हुनु पर्ने उल्लेख छ ।

तर, महासंघका प्रमुख निर्वाचन आयुक्त एवं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अवैधानिक रुपमा एकल निर्णय गरी बर्दिवास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिएका हुन । बर्दिवाससँगै बिर्तामोड, कन्काई, पथरी, अत्तरिया लगायतका उद्योग वाणिज्य संघ पनि पहिलो पटक महासंघको साधारण सभामा सहभागि हुँदै छन् ।

महासंघ निर्वाचन समितिका प्रमुख न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारीलाई पनि स्वीकृत गरेका छन् । यस सम्बन्धमा दाबी बिरोध परेको भएपनि प्रमुख निर्वाचन आयुक्त न्यौपानेले सम्बोधन नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरिसकेका छन् । उक्त नामावलीमा निर्वाचन अधिकृत रमण कुमार कर्णले फरक मत अर्थात ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

‘मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित कसरी रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइयो ?’ एक उम्मेदवारले निर्वाचन समितिको कार्यशैलीप्रति नै प्रश्न गरे । महासंघको विधानको दफा ४६ अनुसार कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफुले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेको हुनु पर्ने उल्लेख छ ।

“मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?”, ती उम्मेदवारले प्रश्न गरे । महासंघ निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त उपेन्द्र केशरी न्यौपाने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका अध्यक्ष समेत हुन् । आफैं मतदाता रहेका न्यौपानेलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकोमा पनि उनले बिरोध जनाएका छन् ।

“कार्यतालिका अनुसार एउटा पक्षले राखेका बिचार र दाबी बिरोधलाई सुन्दै नसुन्ने अनि अर्को पक्षका अवैध उम्मेदवार र मतदाता स्वीकृत गर्ने काम उपेन्द्रकेशरी न्यौपानेबाट भईरहेको छ,” उनले भने, “यदि न्यौपानेले गरेको निर्णय सही हुन्थ्यो भने निर्वाचन समितिका सदस्य रकमण कुमार कर्णले किन फरक मत राख्नु भयो ?”

निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले उम्मेदवारको नामावलीको सूची सार्वजनिक गर्ने क्रममा नेपाल औषधी उत्पादक संघबाट २ जनाको उम्मेदवारी परेको भन्दै नाट अफ डिसेन्ट लेखेका हुन । वस्तुगत तर्फका उपाध्यक्षका प्रत्यासी उमेश लाल श्रेष्ठ र सदस्यका प्रत्यासी दिपकप्रसाद दाहाल औषधी उत्पादक संघबाट मनोनयन भएको भन्दै निर्वाचन समिति सदस्य कर्णले फरक मत राखेका हुन् ।

यसरी एउटा प्यानलको पक्षपोष र अर्को प्यानल पाखा लगाउने महासंघका प्रमुख निर्वाचन अधिकृत न्यौपानेले महासंघको गरिमालाई कमजोर बनाउने काम गरेको ती उम्मेद्वारको भनाइ छ ।

 

\समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।