सेन्सेटिभ इन्डेक्स बढ्न नसकेको बजार कति होला दिगो ? बलिया कम्पनी बन्दै छन् कमजोर

Parmeshwor Adhikari
0
Shares

बजार सूचक नेप्से १५१० को बिन्दुमा पुगेका बेला गत असोज २० गते शनिबारका दिन लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा बैंकिङ सूचक र नेप्से सूचक करिब-करिब नजिकको अवस्थामा हुने गरेको विगत वर्तमानमा भने फराकिलो अन्तरको अवस्थामा पुगेर सबैभन्दा धेरै अन्तर कायम भएको भन्दै बैंकहरुको शेयर अवमूल्यन भएको संकेत गरेका थिए ।

उक्त दिन बजार सूचक नेप्से १५१०.४२ अंकमा पुगेको थियो भने वाणिज्य बैंकहरुको कारोबार मापन गर्ने बैंकिङ सूचक १ हजार २३४.८० अंकमा थियो । उक्त दिन नेप्से र बैंकिङ सूचकको अन्तर २७५.६२ थियो ।

आज बजार सूचक नेप्से २ हजार दशमलव ४० अंकमा पुग्दा पनि यो अवस्थामा सुधार भएको छैन । मंगलबार बैंकिङ इण्डेक्स १ हजार ५००.९४ अंकमा अडिएको छ । लगानीकर्ता पौडेलले २ महिना पहिले नेप्से र बैंकिङ सूचकमा २७५.६२ अंकको अन्तर देखाएकोमा अहिले त्यो अन्तर बढेर ४९९.७८ अंकमा उक्लिएको छ । बजारमा तीब्र सुधार आउँदै गर्दा देखिएको यो अन्तरले नेप्सेमा सूचीकृत बलिया कम्पनीहरु कमजोर बन्दै गइरहेको र कमजोर भनिएका कम्पनीहरु बलियो बन्दै गइरहेको देखिएको छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स र बजार परिसूचक नेप्सेको गति एक आपसमा मेल नखाएको अवस्थामा बजारको तीब्र वृद्धि दिगो नहुने भन्दै जानकार लगानीकर्ताहरुले चासो देखाउन थालेका छन् । यस्तो अवस्थामा निरन्तरको बजार वृद्धिप्रति सशंकित हुनुपर्ने अवस्था आएको उनीहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्सेमा सूचीकृत बलिया कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स हो । तर पछिल्ला दिनहरुमा सेन्सेटिभ इन्डेक्सभन्दा बाहिर रहेका कम्पनीहरु बलियो अवस्थामा रहँदा सेन्सेटिभ घट्दा पनि समग्र बजार परिसूचक नेप्सेमा तीब्र उछाल आईरहेको छ ।

मंगलबार सेन्सेटीभ इण्डेक्स करिब २ अंकले घट्दा पनि बजार सूचक ३ अंक भन्दा धेरैले बढेर २ हजार पुगेको छ । बलिया मानिएका बैंकहरुको शेयर मूल्यमा पछिल्ला केही दिनमा सुधार देखिए पनि त्यो टिक्न नसक्दा मंगलबार सेन्सेटिभ इण्डेक्स तल झरेको हो । मंगलबार बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर हालसम्मकै उच्च अर्थात २ हजार दशमलव ४० अंकमा उक्लिए पनि सेन्सेटिभ इण्डेक्स भने १.७७ अंकले घटेर ३८३.७९ अंकमा झरेको छ ।

  • बलिया कम्पनीको सूचक घट्दा कसरी बढ्छ बजार ?

नेप्सेका अनुसार नेप्से पसिसूचक तय हुँदा सूचीकृत सबै कम्पनीको सहभागिता रहेको हुन्छ । तर, सेन्सेटिभ इण्डेक्स गणना हुँदा करिब ६ दर्जन कम्पनीको मात्र प्रतिनिधित्व हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुललीले बताए । सेन्सेटिभ इण्डेक्समा अधिकांश बैंकहरुलाई मात्र समेटिएको छ । मंगलबार अधिकांश बैंक तथा विकास बैंकको शेयर मूल्य घटेपछि सेन्सेटिभ इण्डेक्स घटेको उनको भनाई छ ।

सेन्सेटिभ इण्डेक्समा सहभागी हुनका लागि सूचीकृत कम्पनीको चुक्त पूँजी कम्तिमा ५० करोड भएको, साधारण शेयरधनीहरुको संख्या १० हजार भएको, कम्तिमा तीन वर्ष देखी लगातार नाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार विवरण तथा आय व्यय विवरण पेश गरेको हुनुपर्ने व्यवस्था छ ।

मंगलबार नेप्सेमा सेन्सेटिभ इण्डेक्स भन्दा बाहिरका कम्पनीको शेयरमूल्य बढेको हुनाले समग्र बजार सूचक बढेको र सेन्सेटिभ इण्डेक्स घटेको उनको भनाई छ । तर, बुधबार १२८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३७ कम्पनीको मात्र बढेको छ । त्यसैगरी ७ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

नेप्सेका अनुसार पछिल्लो समयमा सर्वसाधारणमा शेयर बिक्री गरेका तथा ठूलो पूँजी भएका कम्पनीहरु सेन्सेटिभ इण्डेक्स भन्दा बाहिर रहेको अवस्था छ ।

पछिल्ला दिनमा तीब्र गतिमा शेयरमूल्य बढेको नेपाल रि इन्स्योरेन्स कम्पनी, अप्पर तामाकोशीका साथै अधिकांश बीमा कम्पनीहरुको योगदान सेन्सेटिभ इण्डेक्समा नभएको हुनाले समग्र बजार सूचक बढेपनि सेन्सेटिभ इण्डेक्स घटेको हो ।

मंगलबार ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्मले बढेको छ । यी कम्पनी मध्ये नेपाल टेलिकम मात्र सेन्सेटिभ इण्डेक्स भित्रपर्छ भने बाँकी रहेका नेपाल रि इस्योरेन्स, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी र सान्जेन जलविद्युत कम्पनी सेन्सेटिभ भन्दा बाहिरका कम्पनी हुन् ।

मंगलबार १० प्रतिशतसम्म शेयर मूल्य बढेको नेपाल रि इन्स्योरेन्सको कुल बजार पूँजीकरण नेप्सेमा सूचीकृत कम्पनीमध्ये दोस्रो ठूलो पूँजीकरण हुने कम्पनी हो । सूचीकृत कम्पनीहरु मध्ये नेपाल टेलिकम सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी हो ।

नेप्सेमा मंगलबार ७ अर्ब भन्दा थोरैको शेयर कारोबार भएको छ । नेप्सेमा १९७ कम्पनीको १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्सेको कुल बजार पूँजीकरण समेत बढेर हालसम्मकै धेरै २६ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । बजार पूँजीकरणमा कम्पनीहरुको योगदानका आधारमा पनि नेप्से सूचक र सेन्सेटिभ इण्डेक्सको गणना हुन्छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी नै पूँजीकरणका आधारमा दोस्रो स्थानमा पुगेपछि सेन्सेटिभ इण्डेक्समा रहेका कम्पनी बलियोबाट कमजोर सावित बन्दै गएका छन् । जसका कारण जानकार लगानीकर्ताहरु बजार दिगो हुनेमा विश्वस्त हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेप्सेले सेन्सेटिभ इण्डेक्समा रहेका कम्पनीहरुको सूची तयार गर्ने मापदण्डलाई परिमार्जन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको बताउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।