बुद्धभुमी नेपाल हाइड्रोपावर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति माग गर्दै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बरारबारको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको हो ।
कप्पनीले आईपीओ जारी गर्न माघ ८ गते आवेदन दिएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।
कम्पनीको हाल जारी पूँजी ४० करोड रुपैयाँ रहेको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशत स्थानीय वासिन्दाका लागि र २० प्रतिशत सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । हाल चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको शेयर जारीपछि ४० करोड रुपैयाँ पूँजी पुग्नेछ ।
कम्पनीको आईपीओ निष्कमशन तथा बिक्रि प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपि आईपअीो ग्रेड ४’ प्रदान गरेको छ ।
कम्पनीले आगामी फागुन ७ गते आह्वान गरेको १३ औं वार्षिक साधारण सभामा प्राथामिक शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने प्रस्ताव राखेको छ । उक्त साधारण सभाले आईपीओ प्रस्ताव पारित गरी बोर्डबाट अनुमति प्राप्त भएपछि मात्र कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्नेछ ।
- प्रतिमेगावाट लागत २० करोड
कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिहेको छ । निर्माण भइरहेको उक्त आयोजनाको कुल लागत ९८ करोड ३० लाख रुपैयाँ छ । जसअनुसार प्रतिमेगावाट लागत १९ करोड ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
आयोजनाको लागत ६५ प्रतिशत कर्जाबाट र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ । आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशतभन्दा बढी सकिएको छ ।
एक अर्ब रुपैयाँको लागतमा बन्न लागेको उक्त आयोजना निर्माणको अगुवाइ सिद्वार्थ बैंकले गरेको छ । उक्त बैंकको अनुगावइमा बैंक अफ काठमाण्डू, माछापुच्छे बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ऋण उपलब्ध गराएका छन् ।
बुद्धभुमिका प्रमुख शेयरधनीहरुमा पूर्णलाल श्रेष्ठ, प्रमोद खड्का, अनिलकुमार थापा र बलराम खतिवडा लगायतको लगानी रहेको छ । जसमा प्रमोद खड्काको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत, बलराम खतिवडाको ७ प्रतिशत हिस्सा रहेको छ । कम्पनीमा ७९ जना संस्थापक छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया