सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा पहिलो दिन नै साढे २ लाख बढीले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपीओ निष्काशनको पहिलो दिन शुक्रबार साँझ ५ बजेसम्ममा नै २ लाख ५० हजार ४२५ जना आवेदकले आईपीऋो भरेका हुन् ।
कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा १.५७ गुणा बढी अर्थात ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि उच्च आवेदनका कारण १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्ने अवस्थाले १० कित्ताका लागि १ हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।
- मध्यम रुपमा सुरक्षित रेटिङ्ग
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (आइए)’ रेटिङ्ग प्रदान गरेको छ ।
यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।
आयोजनामा लाग्ने कुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया