रुरु जलविद्युतको शेयर रजिष्ट्रार चयन

0
Shares

रुरु जलविद्युत् परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार चयन गरेको छ ।  बैशाख ५ गते आइतबार रुरु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा परियोजनाकाका अध्यक्ष आशिष सुवेदी तथा क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले रुरु जलविद्युत परियोजनाको केन्द्रीय कार्यालय हत्तिसार काठमाण्डौंमा एक समारोहका बीच हस्ताक्षर गरेका छन् । 

कम्पनी सञ्चालकसमितिको बैठकले कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने, शेयरधनीहरुको लगत अद्यावधिक गर्ने सम्बन्धि सम्पूर्ण काम गर्नेका लागि एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यससँगै धितोपत्र सम्बन्धी सम्पूर्ण कामका लागि कम्पनीका लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लाजिम्पाटबाट सेवा पाउनेछन् । रुरु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको छ ।

कम्पनीको आईपीओ चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरी बैशाख ३ गते शुक्रबार बाँडफाँड भएपनि धितोपत्र दोस्रो बजारमा सूचीकरणको प्रकृयामा रहेको छ ।

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १२० रुपैयाँमा ४ करोड ७ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको प्राथमिक निष्काशन सर्वसाधारणमा बिक्री गरेको हो ।

हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू।४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ । कम्पनीमा संस्थापकको ८० प्रतिशत, आयोजना प्रभावितको १० प्रतिशत र आम सर्वसाधारणको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रूरू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४.३६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।