सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा अधिकतम ३०० रुपैयाँसम्म शेयर कारोबार खुला हुने भएको छ ।
कम्पनीले आईपीओ जारी गर्न प्रकाशन गरेको विवरण अनुसार कम्पनीको न्यूनतम प्रतिशेयर नेटवर्थको तीन गुणासम्म नेप्सेले ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने भएकाले कम्पनीको शेयर अधिकतम ३०० रुपैयाँसम्म खुल्नसक्ने देखिएको हो ।
यद्यपी नेटवर्थको न्यूनतम रेञ्जदेखि अधिकतम रेञ्जभित्रको जुनसुकै मूल्यमा कारोबार खुल्नसक्ने अवस्था भने रहन्छ ।
सिंगटी हाइड्रो इनर्जीको आर्थिक वर्ष २०७६।७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ । यस आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । यसअनुसार सिंगटी हाइड्रो इनर्जीले पनि कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज पाउनेछ ।
कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । रितपूर्वक आवेदन दिने योग्य आवेदकमध्ये नै १२ लाख ९० हजार १०२ जनाको हात खाली भएकोले कम्पनीको शेयरको माग उच्च हुने देखिन्छ। आयोजना सम्पन्न भैसकेको हुनाले पनि यस कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण नै रहने देखिन्छ ।
दोस्रो बजारमा शेयर कारोबारका लागि कम्पनीले शेयर रजिष्ट्रार मोगा क्यापिटल मार्फत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरणका लागि प्रकृया अगाडि बढाइसकेको जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया