सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) आज अर्थात बैशाख १५ गते बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
दोस्रो बजारमा कारोबारका लागि कम्पनीको शेयर मंगलबार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत भएसँगै बुधबारदेखि कारोबार सुरु हुने भएको हो ।
यससँगै आईपीओ पाएका लगानीकर्तामा कम्पनीको शेयर कतिमा कारोबार होला भन्ने कौतुहलता रहेको छ ।
नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको रेञ्ज तोकेको छ । सम्बन्धीत कम्पनीको लेखापरीक्षण भएको वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थदेखि अधिकतम तीन गुणासम्म नेप्सेमा कारोबारका लागि सुरुवाति कारोबार रेञ्ज तोकिने गरेको छ ।
यस आधारमा सिंगटी हाइड्रो इनर्जीको पनि बुधबार स्पेशल प्रि ओपन सेसन (१०ः३० देखि १०ः४५ सम्म) मा यहि कारोबार रेञ्जभित्र कारोबार हुनेछ । अधिकतम रेञ्जमा कारोबार भए प्रतिकित्ता ३०० रुपैयाँसम्म कारोबार हुनेछ भने न्यूनतमदेखि अधिकतम जुनसुकै मूल्यमा अर्डर म्याचिङ्ग भएमा बीचको मूल्यमा समेत कारोबार खुल्ने अवस्था रहन्छ ।
अधिकतम कारोबार रेञ्जमा कारोबार खुले आज ३३० रुपैयाँसम्म मूल्य बढ्न सक्नेछ । घटेमा २७० सम्म घट्नसक्छ । तर आईपीओ आवेदकमध्येले नै शेयर नपाएका कारण केही दिन कम्पनीको शेयरको माग उच्च नै हुने देखिन्छ ।
नेप्सेले कम्पनीको शेयरलाई एसएचईएल (SHEL) कारोबार संकेत प्रदान गरेको छ । बुधबारदेखि कम्पनीको शेयरयहि कारोबार संकेतमा नेप्सेमा कारोबारमा आउनेछ ।
कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।
कम्पनीले मंगलबार संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया