चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले गत आवको यसै अवधिमा ५२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.९२ प्रतिशतले घटेको हो ।
कम्पनीको विद्युत आम्दानी बापतको आय बढेपनि प्रशासनिक तथा मर्मत संभार खर्च बढेपछि नाफा घटेको हो । साथै बैंक ब्याजदर घट्दा ब्याज आम्दानीमा गिरावट आएको छ ।
चैत मसान्तसम्म कम्पनीले बिजुली बेचेर ८० करोड ९२ लाख रुपैयाँ कमाएको छ । गत आवको यसै अवधिमा बिजुली बेचर ८० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
विद्युत आय बढेपनि कम्पनीको प्रशासनिक खर्च ४ करोड १३ लाखबाट बढेर ६ करोड २८ लाख पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ५१ प्रतिशतले बढेको हो। जसको ब्याज आम्दानी समेत ६ प्रतिशतले घटेको छ ।
गत फागुनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादन भैरहेको विद्युत करिब एक साताका लागि बन्द भएको थियो । विद्युत केन्द्रमा उपकरण परिवर्तन गर्नका लागि उत्पादन बन्द गरिएको थियो । जसले गर्दा पनि कम्पनीको आम्दानी प्रभावित हुन पुगेको हो ।
गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस बाडेको कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ बाट बढेर ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजी बढेको अनुपातमा नाफा कमाउन नसक्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर १० रुपैयाँ ८३ पैसामा झरेको छ ।
कम्पनीको जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ छ । जगेडाकोष करिब १० प्रतशतले घटेको हो । जसको प्रतिशेयर नेटवर्थ १५६.४७ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ६०.४७ गुणा छ ।
यस कम्पनीद्धारा प्रवद्धित २७० मेगावाटका चार आयोजनाहरु निमार्णको क्रममा रहेका छन् । अन्य तीन आयोजनाको संम्भाव्यता अध्ययन सकिएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया