युनिभर्सल पावर कम्पनी (UPCL) को नाफा घटेको छ ।
गत आवको यसै अवधिमा ४ करोड २३ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख ३ हजार रुपैयाँ सीमित भएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले अन्य स्रोतबाट २ करोड ८१ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ६ करोड २० लाख ८९ हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेकोमा ३ करोड ३९ लाखले घटेपछि नाफा प्रभावित बनेको हो ।
दोलखा जिल्लामा अवस्थित खारे खोलामा ११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेकोकम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९८ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीले विद्युत उत्पादन गरेको छैन । विद्युत उत्पादन नहुँदा कम्पनीको आम्दानीको मुख्य स्रोतबाट कमाई भएको छैन ।
कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको छ । खारे खोलामा २०७७ सालमा आएको बाढीका कारण आयोजनाको ट्रान्समिसन लाइन, इलेक्ट्रो मेकानिकलको निर्माण कार्यपूर्व योजना बमोजिम नहुँदा निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसकेको कम्पनीले जनाएको छ ।
चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँ रहेको छ । जगेडा कोष ८ करोड ६८ लाख ३४ हजारबाट बढेर ११ करोड ९२ लाख ७० हजार पुग्दा प्रतिशेयर नेटवर्थ १०५.६८ रुपैयाँ छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात १४२.९४ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया