माथिल्लो तामाकोशीले यसै साता ७६ मेगावाट उत्पादन थाल्दै, असोजसम्ममा पूर्ण क्षमतामा सञ्चालनमा आउने

0
Shares

दोलखाको बिगु गाउँपालिकास्थित निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना निमार्ण थालेको दश वर्षपछि यसै सातादेखि पहिलो युनिटबाट उत्पादन थाल्ने भएको छ ।

गेम चेन्जर परियोजनाका रूपमा निमार्ण थालिएको आयोजनाको यसै साता पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली उत्पादन हुने भएको हो ।

४५६ मेगावाट जडित क्षमताको निर्माणाधीन आयोजनाको पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको हो ।

सोमबारबाट उत्पादन सुरु हुने ७६ मेगावाट विद्युत् वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउन एक साताअघिदेखि नै नेपाल विद्युत प्राधिकरणले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरेर कार्य गरिरहेको छ ।

यसका लागि ढल्केबरदेखि तामाकोशीसम्म ग्रिड जोड्ने काम भइसकेको छ । मङ्गलवार देखि नै प्रसारण लाइन चार्ज गर्ने कार्य सुरु भएको प्राधिकरणले जनाएको छ । तामाकोशी करिडोरबाट उत्पादन हुने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

तामाकोशीको बिजुली न्यू खिम्ती सबस्टेसनमा जोडिँदै, असारभित्रै १५२ मेगावाट उत्पादन हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पहिलो युनिटबाट उत्पादन थालिएको अढाई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउने जानकारी दिए ।

पहिलो युनिटपछि हरेक साता अर्को युनिटबाट उत्पादन गर्ने तयारी गरेको छ । यसअनुसार यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनामा कूल ६ युनिट रहेका छन् । असोजको पहिलो सातासम्ममा पाँच वटै युनिट सञ्चालनमा आउने बताइएको छ ।

आर्थिक वर्ष २०६७।६८ बाट मुख्य संरचनाहरूको निर्माण सुरु भई ५१ अर्ब लागतमा निमार्ण सक्ने लक्ष्य लिइएको जलविद्युत आयोजना २०७२ सालको भूकम्प, नकाबन्दी, लगायतका घटनाहरूका कारण ढिलाइ हुँदा यसको लागत ८० अर्ब रुपैयाँ पुग्ने प्राधिकरणले बताउँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।