मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो। कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर जारी गरेको थियो ।
कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ वटा आवेदन मार्फत २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि माग परेको छ । प्रारम्भिक आवेदनका आधारमा कम्पनीको आईपीओ २० लाख ५० हजार ४५१ जनाले नपाउने देखिन्छ । यद्यपी दोहोरो आवेदन र रितपूर्वक नपरेको आवेदन रद्द गर्दा केही संख्या घट्नसक्छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ ६८ हजार ४७४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यसरी बाँडफाँड गरी बाँकी रहने ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्येबाट ६ जनालाई थप १/१ कित्ता गरी ११ कित्ताका दरले बाँडफाँड हुनेछ ।
मैलुङ्ग खोलाले कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखि नै व्यवसायिक आम्दानी गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया