नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) नाफाबाट २ करोड बढी नोक्सानीमा पुगेको छ । अघिल्लो आवमा १ करोड बढी नाफा आर्जन गरेको कम्पनीले गत आवमा २ करोड बढी नोक्सानी ब्यहोरेको हो ।
हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपछि त्यसको प्रत्यक्ष असर नाफामा पुगेको हो । कम्पनीले सार्वजनिक गरेको गत आव २०७७/७८ को वित्तीय विवरण अनुसार कम्पनीले २ करोड २१ लाख ८२ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवमा कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानीमा उच्च गिरावट आएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको विद्युत् बिक्रीबाट आय ५४.४४ प्रतिशतले घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा संकुचित बनेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा ३ करोड ३ लाखले यस्तो आय घटेको हो ।
चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार २०० रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १.६० रुपैयाँ ऋणात्मक छ । कम्पनीको जगेडा कोष ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक छ । अघिल्लो आवको तुलनामा ४४ लाख ५१ ह्जारले जगेडा नोक्सानी बढेको हो । कम्पनीको गत आवमा प्रतिशेयर नेटवर्थ ७४.३७ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ८४.१६ रुपैयाँ छ ।
कम्पनीले विसं २०६५/६६ देखि एनसीसी बैंकसँग राफसाफ हुन बाँकी रकममा बैंकले २ करोड ३५ लाख ८० हजार रुपैयाँ दाबी गरेकोमा कम्पनीले नेगोसियसन मार्फत १ करोड ६८ लाख ८० हजारमा बक्यौता राफसाफ गरिएको उल्लेख गरेको छ ।
यस्तै इन्द्रावति र मेलम्चीमा आएको बाढीका कारण आयोजनाबाट ५२ दिन विद्युत उत्पादन हुन नसक्दा ३ करोड बढी आम्दानी घटेको जनाएको छ । यस्तै २०७७ साउनको बाढीको क्षति वापत १ करोड २४ लाख दाबी प्राप्त भएको र २०७८ असारको बाढीबाट भएको क्षति वापत ८ करोड ७५ लाख बीमा दाबी गरिएको कम्पनीले जनाएको छ । बाढीबाट क्षतिका कारण आयोजना हाल बन्द रहेको छ ।
यस्तै नेशनल हाइड्रोको प्रवद्धर्क कम्पनी सुनकोशी हाइड्रोपावरले ४.५० मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनको अनुमतिपत्र पुनः प्राप्त भएकाले कम्पनीले आयोजनामा ‘गोइङ कन्र्सन’ पूरा गरेपछि यसअघि गरिएको ६१.७२ करोड रुपैयाँ राइट ब्याक हुने र यसबाट २० प्रतिशत प्रतिफल दिनसक्नेगरी सञ्चित जगेडा उपलब्ध हुने कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
नेशनल हाइड्रोले तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाईसेन्स) लिएर आयोजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो। काम बन्द भएपछि विद्युत विकास विभागले आयोजनाको लाईसेन्स खारेज गरेको थियो। लाईसेन्स खारेज भएपछि कम्पनीले करिब ६५ करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया