सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ शुक्रबारदेखि पुनः बिक्री खूल्दै

0
Shares

सामलिङ्ग पावर कम्पनीले शुक्रबारदेखि स्थगित आईपीओ पुनः बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसअघि साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो ।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न इलाममा निषेधाज्ञा लागू भएपछि कम्पनीको आईपीओ स्थगित भएको थियो । सोही आईपीओ निष्काशन भोलिदेखि खुला हुने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलामका स्थानीय वासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बरारबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशित कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। विशेषगरी नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।