भारतका कोराेनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ सङ्क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ ।
भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २४ हजार ८६८ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०।३६ प्रतिशत मात्रै हो ।सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हुँदै गएको हो ।
भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख नौ हजार ७०८ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.२९ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।
भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता
भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् ।
निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया