घट्दो बजारका बीच भारत सरकार एलआईसीको आईपीओ जारी गर्ने तयारीमा

0
Shares

भारतीय सरकारले घट्दो सेयर बजारका बाबजुत चौथो त्रैमासमा सरकारी स्वामित्वको भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को प्राथमिक निष्काशनको तयारी गरेको छ ।

हालै भारतीय बजारमा सेयर जारी गरेका दुई ठूला कम्पनीहरु पेटीएम र स्टार हेल्थको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपनि यसले सरकारलाई निरुत्साहित बनाएको छैन । सेयर बजारमा अनिश्चतता कायमै रहँदा पनि सरकार आईपीओ जारी गर्न दृढ रहेको छ ।

सरकारले बजारका चुनौतिहरुभन्दा बढी सेयर जारी गर्दा हुने लाभलाई ठूलो देखेको छ ।

टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै सेयर जारी गर्नका लागि कम्पनीले लगानीकर्ताहरुलाई प्रारम्भिक विवरणपत्रहरु सार्वजनिक गरेको उल्लेख गरेको छ ।

परामर्शदाताहरुले यस महिनाको अन्त्यमा आधिकारिक रूपमा आफ्नो रिपोर्ट पेश गर्ने अपेक्षा गरिएको छ । चौथो त्रैमासिकमा जारीहुने आईपीओका लागि आधिकारिक रूपमा सम्भावित लगानीकर्ताहरूसँग प्रारम्भिक बैठकहरू गरिसकेका छन् ।

कोभिडका कारण विश्वकै अर्थतन्त्र धरमरमा परेको समयमा अधिकांश देशहरुको सेयर बजार अस्थीर भइरहेका छन् । भारतीय सेयर बजार पनि विश्वमा भएको उतारचढाव बाट अछुतो छैन । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपछि भने स्टक बजारमा गिरावट आएको छ । पेटीएम र स्टार हेल्थको बजारमा देखिएको कमजोर उपस्थितिका बाबजुत सरकारले एलआईसीको सेयर जारी गर्न लागेको हो ।

भारतीय सरकारले १.७५ लाख करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जारी हुने आईपीओमध्ये १ लाख करोड रुपैयाँ बराबरको सार्वजनिक क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूका लागि र बाँकी ७५ लाख रुपेयाँ बराबरको सेयर सेन्ट्रल पब्लिक सेक्टर इन्टरप्राइजेजलाई बिक्री गर्नेछ ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले यसअघिको बजेट भाषण मार्फत एलआईसीमा सरकारले आफ्नो हिस्सेदारी बिक्री गर्ने बताएकी थिइन् । एलआईसीको आईपीओ दशकको सबैभन्दा ठूलो हुनेछ । आईपीओपछि एलआईसी मुलुकको सबैभन्दा ठूलो कम्पनी बन्न सक्छ । जसको बजार मूल्यांकन ८ लाख करोड भारुसम्म हुने आंकलन गरिएकोछ । भारतको जीवन बीमा बजारमा एलआईसीको हिस्सा करिब ७० प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।