रुस र युक्रेन वार्ताको लागि सहमत हुँदा हरियो देखियो विश्व सेयर बजार

0
Shares

करिब दुई हप्ता लामो युद्धपछि रुस र युक्रेन वार्ताको लागि सहमत भएपछि विश्व सेयर बजार सकारात्मक देखिएको छ । युद्धको कारण ओरालो लागेको सेयर बजार दुई देश वार्ताको लागि सहमतिमा आएपछि उकालो चढेको हो ।

एसिया–प्यासिफिक क्षेत्रको बृहत सेयर सूचाङ्क एमएससीआई १.६ प्रतिशतले बढेको छ । त्यसैगरी जापानको निक्की सूचाङ्क पनि ३.८ प्रतिशतले बढेको छ । हिजो २ प्रतिशतले ओरालो लागेको हङकङको सेयर सूचाङ्क होङसेङ आज ०.६ प्रतिशतले बढेको छ । चीनको ब्लु चिप्स सीएसआई ३०० सूचाङ्क १.७५ प्रतिशतले बढेको छ ।

एशियाली सेयर बजारमा हरियाली छाउँदा युरोप र अमेरिकाका फिनटेक कम्पनीको सेयर सूचाङ्क पनि बढेको छ । डो वोन्स इन्डिस्ट्रियल ओभ्रेज २ प्रतिशतले बढेको छ भने नास्ड्याक कम्पोजिट पनि ३.५९ प्रतिशतले उकालो लागेको छ । युरोपको युरो स्टक्स ५० सूचाङ्क ०.३५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी जर्मनको जर्मन डाक्स फ्युचर्स र एफएटएसइ फ्युचर्स पनि क्रमशः ०.५५ प्रतिशत र ०.४८ प्रतिशतले बढेको छ ।

अन्य सूचांकहरुमा क्रमिक रुपमा वृद्धि आएपनि वाल स्ट्रिट फ्युचर्सले भने सेयर बजारका अन्य सूचाङ्कले जस्तो वृद्धि गर्न सकेन । एस एण्ड पी ५०० फ्युचर्स सूचाङ्क ०.१३ प्रतिशतले ओरालो लागेको छ भने नास्ड्याक फ्युचर्स पनि ०.२१ प्रतिशतले घटेको छ ।

त्यसैगरी कच्चा तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) को सदस्य संयुक्त अरब इमिरेट्सका उर्जा मन्त्री सुहेल अल–मजरुइले जनवरीमा भएको सम्झौता अनुरुप तेल उत्पादन बढाउने भनेसँगै आकासिएको तेलको मूल्यमा पनि कमी आएको छ ।

बुधबार प्रति ब्यारेल १३१.३९ डलरमा कारोबार गरेको बे्रन्ट क्रुडले बिहीबार ११४.६४ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । त्यसैगरीे प्रति ब्यारेल १२६.४१ डलरमा कारोबार गरेको वेस्ट टेक्सास इन्टरमिडियटले बिहीबार ११०.५८ प्रति ब्यारलमा कारोबार गरेको छ ।

त्यसैगरी सुरक्षित लगानीको स्रोत मानिएको सुनको मूल्यमा गिरावट भएको छ ।

सेयरबजारमा बिहीबार केही सुधार देखिएता पनि रुस र युक्रेनबीचको वार्ता सफल हुने सम्भावना कम रहेको विज्ञहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।