विश्वव्यापी रुपमा महंगीएको पेट्रोलियम पदार्थको मूल्य सम्बोधन गर्दै भारतले भण्डारण गरेको कच्चा तेल उपयोग गर्ने भएको छ ।
भारत संसारको तेस्रो ठूलो तेल उपभोत्ता र आयातकर्ता रहेको छ । भारतले ८५ प्रतिशत तेल आयात गर्ने गरेको छ ।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । यसै क्रममा भारतीय जुनियर तेल मन्त्री रामेश्वर तेलीले कच्चा तेलको मूल्य रोक्न भारत तयारी अवस्थामा रहेको र आवश्यक परेको खण्डमा आफ्नो रिर्जभबाट तेल रिलिज गर्ने बताएका छन् ।
विश्वव्यापी रुपमा बढेको कच्चा तेलको मूल्य घटाउन आफ्नो स्टकबाट तेल रिलिज गर्ने कुरामा भारत गत महिना पनि तयार भएको थियो । गत नोभेम्बर महिनामा कच्चा तेलको मूल्य घटाउन भारतले ५० लाख व्यारल रिलिज गरेको थियो ।
सोमबार पत्रकारसँगको कुराकानीमा तेलीले भारतले विश्व इन्धन बजार भूराजनीतिक तनावले पैदा गरेका समस्या र सम्भावित आपूर्ति श्रृङखला अवरोधको बारेमा नजिकबाट अध्ययन गरिरहेको बताएका छन् ।
रुसबाट भारतले ५.४२ प्रतिशत तेल मात्रै आयात गर्ने भएता पनि अन्तराष्ट्रिय बजारमा रुस युक्रेन युद्धको प्रभाव पर्दा त्यसको केही अंश भारतमा पनि परेको छ ।
सन् २०२२को जनवरीमा ८४.६७ डलर प्रति ब्यारलमा खरिद गरेको भारतले मार्चको दोस्रो साता सम्म आइपुग्दा ११२.५९ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया