चीनले ५% भन्दा धेरै आर्थिक वृद्धिदर कायम गर्न कोभिड सम्बन्धी नियमलाई खुकुलो पार्नुपर्ने

0
Shares

चीनको आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा माथि पु¥याउन चीनले अवलम्बन गर्दै आएको शून्य सहनशीलता नीति खुकुलो पार्नुपर्ने चिनियाँ केन्द्रीय बैंकका वरिष्ठ कर्मचारीको भनाई रहेको छ ।

चिनियाँ केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाको मौद्रिक नीति समितिका सदस्य वाङ यिमिङले इकोनोमिक फोरममा, देशले करिब ५.५ प्रतिशतको राष्ट्रिय वृद्धि लक्ष्य हासिल गर्नको लागि बलियो जग बसाल्न समष्टिगत आर्थिक नीतिको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडिपि) ४.८ प्रतिशतले बढेको छ ।

चीनको राजधानी बेजिङले सक्रिय र प्रभावकारी रूपमा घरेलु माग विस्तार गर्नुका साथै देशको औद्योगिक आपूर्ति श्रृङखलालाई स्थिर बनाउनु तर्फ जोड दिनुपर्ने वाङले बताए ।

चीनको सबैभन्दा धेरै जनसंख्या र महत्वपूर्ण आर्थिक हब रहेको साङ्घाइ अहिले कोभिडसँग लडिरहेको छ । साङघाईमा भएको लकडाउनले विशेषत मध्यम वर्गीय तथा निम्न वर्गीय परिवार र उद्योग तथा फ्याक्ट्रीहरुमा समस्या उत्पन्न गरेको छ । तीन हप्ता भन्दा लामो लकडाउनले खाद्यान्न र औषधीको आपूर्तिमा अवरोध सिर्जना गरेको छ । यसैगरी कोभिड संक्रमण फैलिरहँदा मानिसहरुले रोजगारी गुमाउने, तलब समयमा नपाउने र कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहँदा पारिवारिक बिछोड र निराशा बढेको छ ।

कोभिडका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीन पछि परेको छ । फ्याक्ट्रीहरु बन्द हुँदा उत्पादनमा समस्या भएको छ भने आपूर्ति श्रृङखला पनि अवरोध भएको छ । यी सबै समस्याहरुसँग जुझ्नको लागि चीनले अवलम्बन गरेको नीति खुकुलो बनाउनु पर्ने वाङको भनाई रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।