अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गरेका हुन् ।
रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्ना लागि किभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको थियो ।
अहिले भने युक्रेनलाई थप सहयोगको आवश्यकता परेको र त्यसका लागि दूतावास मार्फत गर्नुपर्ने भएकाले दूतावास खोल्न लागिएको अमेरिकी अधिकारीहरुको भनाई छ ।
अमेरिकाले युक्रेनलाई विभिन्न आधुनिक हतियार र नगद समेत सहयोग दिने घोषणा गरिसकेको छ । केही सहयोग भने यसअघि देखि नै दिदै आएको थियो ।
दुई महिना हुँदा पनि रुसले आक्रमण नरोकेपछि अमेरिकाले थप सहयोग गर्ने निश्कर्ष निकाल्दै दूतावास फेरि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । रुसले युक्रेनमा गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । आक्रमणका कारण सयौंको मृत्यु भएको छ भने अरु कैयौं घाइते भएका छन् । त्यसैगरी हजारौं विस्थापित भएका छन् ।
दुई पक्षीय भीडन्तका कारण युक्रेनलाई ठूलो भौतिक तथा आर्थिक क्षति पनि भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वकै आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।
युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ ।
दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ जुन युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
आर्थिक सहायताको बारेमा बोल्दै, जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन् ।
रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतबार कीभ आइपुगेका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया