कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, उच्च मुद्रास्फीति र पछिल्लो समयमा विकसित अर्थतन्त्र भएका देश केन्द्रीय बैंकहरुले वृद्धि गरेको औसत ब्याजदरको प्रभाव क्रिप्टो मार्केटमा देखिएको छ ।
कोइन मार्केट क्याप संस्थाबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा क्रिप्टोमार्केटमा १.४१ ट्रिलियन गिरावट आएको छ । क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आइरहेको समयमा क्रिप्टो कारोबार भने ८४.७६ प्रतिशतले वृद्धि भएको छ ।
क्रिप्टो मार्केटमा क्रिप्टो करेन्सीको व्यापक सेल–अफ चलिरहेको बेलामा बिटकोइनको मूल्य ३० हजार डलर भन्दा तल पुगेको छ । यसैगरी क्रिप्टो फियर एन्ड ग्रीढ सूचांकले क्रिप्टो मार्केटमा एक्सट्रीम फियर रहेको जनाएको छ । यसको अर्थ क्रिप्टोका लगानीकर्ताहरु क्रिप्टो मार्केट क्रयास हुने डरमा रहेका छन् र थप घाटा न्यूनिकरण गर्नको लागि घाटामै भएपनि क्रिप्टो बेचिरहेको भौल्डका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक दर्शन बाथिजाले बताएका छन् ।
बढ्दो मुद्रास्फीति, रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु र विश्वव्यापी वित्त बजारमा आएको अस्थिरता, फेडरल रिजर्भ लगायतका केन्द्रीय बैंकले बढाएको औसत ब्याज दरले गर्दा स्वदेशी मुद्रा कमजोर भएको छ । यी सबै गतिविधिहरुले क्रिप्टो मार्केटमा अत्याधिक चाप बढाएका छन् । जसकारण लगानीकर्ताहरु आत्तिएर सेल अफ गरिरहेको बाइयुकोइनका प्रमुख कार्यकारी अधिकृत शिवम थाकरालले बताएका छन् ।
क्रिप्टोकरेन्सीको सुरुवातकर्ता रहेको बिटकोइन अहिले जुलाई २०२१ यताकै न्युन ३० हजार डलर भन्दा कम हुन पुगेको छ । पछिल्लो एक सातामा बिटकोइनको मूल्य १९.६३ प्रतिशतले घटेको छ भने पछिल्लो २४ घन्टामा बिटकोइनको मूल्यमा ८.२६ प्रतिशतले ह्रास आएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा इथेरियमको मूल्य ५.९ प्रतिशतले घटेर २ हजार ३१९ डलरमा कायम भएको छ । यसैगरी बाइनान्स, सोलाना, कारडाना, डागीकोइन लगायतका अन्य क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया