एपेक बैठकमा युक्रेनमा जारी रुसी आक्रमणको विरोध

0
Shares

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको शनिबार व्याङ्ककमा भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसी आक्रमणको विरोध गरेका छन् ।

बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका हुन् । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए ।

युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ ।

क्यानडाका अन्तरराष्ट्रिय व्यापारमन्त्री मेरी एनजीले आफ्नो देशले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रुसलाई जवाफदेही बनाउन धेरै कारबाही गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्ने विरुद्ध कडा प्रतिबन्ध समावेश गरिएका बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिए ।

रुसी वाणिज्यमन्त्री रेशेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनःसहभागी भएका थिए । अमेरिकासहितका वाणिज्यमन्त्रीको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताए ।

पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणको विरोध गर्दै रूसमाथि कडा कूटनीतिक एवं आर्थिक प्रतिबन्ध लगाएका छन्भने धेरै एपेक सदस्य राष्ट्रहरू तथा विशेष गरी दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी देशले त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन् । युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृङ्खला अवरुद्ध गरेको पारेको छ ।

सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवद्र्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेक स्थापना गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।