अमेरिकामा अर्को वर्ष मन्दी हुन सक्ने बैंक अफ अमेरिकाको प्रक्षेपण

0
Shares

बैंक अफ अमेरिकाले सन् २०२३ मा अमेरिकामा आर्थिक मन्दी हुने अनुमान गरेको छ । ४० वर्ष यताकै उच्च मुद्रास्फीति नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा औसत ब्याज दर बढाउँदै जानुले सन् २०२३ मा आर्थिक मन्दी हुने अनुमान गरिएको हो ।

बैंक अफ अमेरिकामा कार्यरत पदाधिकारी भन्छन्, “अमेरिकामा आर्थिक मन्दी हुने निश्चित छ तर यस अघिको जस्तो विकराल मन्दी हुँदैन ।” श्रम क्षेत्रमा आएको प्रतिस्पर्धाका कारण मानिसहरु थोरै आम्दानी हुने काममा संलग्न हुन चाहँदैनन् र यसै कारण बढिरहेको बेरोजगारी दर, आकाशिएको महंगी र फेडरल रिजर्भले ब्याज दर वृद्धि गरिरहँदा दिर्घकालमा अमेरिकी अर्थतन्त्रमा पारेको प्रभावका कारण सन् २०२३ को अमेरिकी अर्थतन्त्र कस्तो हुने भन्ने बारे बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरु चिन्तामा परेका छन् ।

गत मे महिनामा ०.५ प्रतिशतले औसत ब्याजदर बढाएको फेडले आगामी महिनामा पनि यहि अनुपातमा औसत ब्याज दर बढाउने संकेत दिएको छ । यहि अनुपातमा औसत ब्याज दर बढ्ने हो भने सन् २०२३ को मे महिनामा औसत ब्याजदर बढेर ३.४ प्रतिशत हुने अनुमान विश्लेषकहरुले गरेका छन् । फेडको यस कदमले आर्थिक वृद्धि दर खुम्चिएर सन् २०२३ को अन्त्यमा ०.४ प्रतिशत हुने छ ।

ब्याजदर वृद्धिको प्रभाव सन् २०२२ मा नदेखिएता पनि सन् २०२३ मा यसको प्रभाव गहिरो पर्ने बैंक अफ अमेरिकाले जनाएको छ ।

यसैगरी फेडरल रिजर्भले औसत ब्याजदर बढाएपछि अमेरिकी सेयर बजार ओरालो लागेको छ । फिएर एन्ड ग्रीड सूचांकले लगानीकर्ताहरुको मनोबल कमजोर रहेको जनाएको छ । इतिहासविद् जेरेमी ग्रान्थामले आर्थिक मन्दी भयो भने सेयर बजारमा ८० प्रतिशत भन्दा धेरैले गिरावट आउने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।