आफन्तलाई जागिर दिने उद्देश्यले राजदूतावास खोलिनु अन्तर्राष्ट्रिय अभ्यास विपरित: सुरेन्द्र पाण्डे

0
Shares

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेताका आफन्त तथा कार्यकर्तालाई जागिर दिने उद्देश्यले विदेशमा राजदूतावास खोल्नु अन्तर्राष्ट्रिय अभ्यास विपरित रहेको बताएका छन् । उनले व्यवस्थापिका संसदको अर्थ समितिमा बजेटका लागि सुझाव दिँदै अन्य देशले खर्च कम गर्न खोलेका दूतावासलाई पनि घटाएको अवस्थामा नेपाल सरकारले बढाइरहेको बताएका हुन् ।

अरु देशले खर्च धेरै भयो भनेर दुतावास तथा वाणिज्य दूतको संख्या घटाएको बताउदै सांसद पाण्डेले भने, “हाल ४० देशमा राजदूतावास खोलिएको छ, यस सन्दर्भमा अर्थसमितिले समीक्षा गर्नु जरुरी छ ।”

पछिल्लो समयमा यूरोपियन मुलुक र बेलायतले नै खर्च कम गर्न दूतावासको संख्या घटाउँदै गएको जानकारी दिए ।

नेपालले राजदूतावास खोलेका देशको नेपालमा पनि हुनु पर्नेमा त्यसलाई ध्यान नदिए एक पक्षीय रुपमा दुतावास खोल्नु नतिजा मुलक नभएको समेत उनले बताए ।

उनले सरकारले पछिल्लो समयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा गर्ने घोषणाको विरोध गर्दै उत्पादन बढाउनुपर्ने देशमा कार्य दिन बढाउनुपर्नेमा विदा थपिनु प्रतिउत्पादक हुने बताए । विभिन्न जात जाति धर्म तथा संस्कृतीका आधारमा चाडपर्व विदा बाहेक अन्य विदा बढाउन नहुने उनले बताए ।

स्वदेशी उत्पादनको खपत बढाउनका लागि पिच गर्नुपर्ने सडकलाई ढलान गरेर सिमेन्टको खपत बढाउन समेत उनले सुझाव दिए । ढलान गरेका सडक निर्माण गरेको खण्डमा स्वदेशी सिमेन्टको खपत बढ्ने तथा विटुमीनको आयात घट्ने समेत उनको तर्क छ । त्यसका साथै उर्जाको खपत बढाउन आन्तरिक बजारको विस्तार गर्न आवश्यक रहेको समेत सांसद पाण्डेले औंल्याए ।

पछिल्लो समयमा विशेष आर्थिक क्षेत्रहरुको विस्तार भैरहेको अवस्थामा त्यसको प्रयोग किन हनु नसकेको भन्दै पाण्डेले भने,“भाडा धेरै भयो भनेर उद्योगहरु विशेष आर्थिक क्षेत्रमा जान नचाहेको सुनेको छु, यदि त्यो हो भने सरकारले भाडा खाने सोचमा जानु हुँदैन ।” सरकारले पुर्वाधार निर्माण भाडा आम्दानी गर्ने उद्देश्यले गर्न नहुने उनको भनाइ छ । सरकारले ब्याज, ज्याला तथा भाडा खाने सोचबाट बाहिर आउनु पर्ने समेत उनले बताए ।

सरकारी काम भवन बनाउने मात्र नभएको बताउँदै उनले भने,“भवन बनाउने ठेकदारबाट पैसा खानका लागि भवन बनाउनका लागि तिब्रता दिने । तर, त्यो भवन बनेपछि त्यसको सदुपयोग र नतिजालाई ध्यान दिने प्रचलन नै छैन ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।