पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा आफुले ऐतिहासिक सुधार गरेको दावी गरेका छन् । उनले आफु अर्थमन्त्री हुँदा धितोपत्र बजार सूचक घट्न नदिन संस्थागत लगानीकर्तालाई धितोपत्र खरिद गर्न लगाएको बताएका हुन ।
“सेयर बजारमा ऐतिहासिक सुधार गर्ने मान्छे म हुँ,” पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भने,“म अर्थमन्त्री हुँदा कार्यदल बनाएर ५८ बुँदे सुझाव दिएकोमा अधिकतम लागु भएका थिए ।” अहिले बजारको अवस्थाले लगानीकर्ता अनसन समेत बस्न पर्यो । पछिल्लो समयमा लगानीकर्ताले अघि सारेका अधिकांश मागहरु कार्यदलले नै दिएका ५८ बुँदे प्रतिवेदन लागु गर्नु पर्ने रहेको बताए । “मैले त्यतिबेला नै उक्त प्रतिवेदन स्वीकारेर, दिएका सुझावहरुलाई लागु गरेको थिए,” उनले थपे,“पुँजीगत लाभकर घटाउने देखि लिएर, ब्रोकर व्यवस्थित गर्ने, ब्रोकरलाई सेयर होल्ड गर्न दिने, ब्रोकर थप गर्ने, वाणिज्य बैंकलाई ब्रोकर दिने, आइपीओलाई अफ्ठ्यारो समयमा अलिकति पर सार्ने लगायतका कुराहरुलाई पारदर्शी बनाउन पर्छ ।”
सेयरबजारमा सिँढी चढेर माथि माथि जानुपर्छ तर कहिलेकाहिँ लिफ्टबाट माथि गइयो भने तल झर्दा बेसमेन्टमा पनि पुग्न सकिने उनले सुझाए । सेयर बजार तल झर्न थालेपछि खतराको संकेत गर्दै थप घट्न दिनु हुदैन भन्दै सार्वजनिक मिडियामा बोल्ने पनि आफै रहेको उनको दावी छ ।
“नेप्से २२००/२३०० विन्दुमा आउँदा नै बजार अत्याधिक करेक्सनमा गयो है भनेर मैले भनेको नै हो,” उनले थपे,“अहिले उत्पन्न अवस्थालाई सुधार गर्न राष्ट्र बैंकले केही नीतिगत सुधारहरु गर्नुपर्ने छ है भनेर सांकेतिक रुपमा राष्ट्र बैंकलाई भनेकै हो ।” सेयरबजारलाई व्यवस्थित गर्नको लागि सेयर क्रेताहरु बजारमा प्यानिक हुन थाले भने बजार निर्माताहरु जस्तै नागरिक लगानी कोष लगायतका अन्य केही संस्थाहरुलाई सेयर किन्न लगाएर मेरो कार्यकालमा बजार सूचक तल जानबाट रोकेको समेत उनले दावी गरे ।
अहिलेको अवस्थामा मार्केट मेकरहरुलाई सेयर किन्न लगाउने समय पनि सकिएको उनले बताए । हिजो ३१००/३२०० बिन्दुमा पुग्दा पनि अस्वभाविक थियो , अहिले घट्नु पनि अस्वभाविक नै रहेको उनको भनाई छ । अहिले बजार सुधारका उपकरण ल्याउन सकिएन भने उपभोग र अर्थतन्त्रमा कति असर गर्छ भन्ने सोच्नु आवश्यक रहेको उनले औल्याए । हाल धितोपत्र बजारबाट १५ अर्ब पुँजी ह्रास भयो भन्ने तथ्यांक आएकै छ, यहि क्रम चलिरह्यो भने ठुलो क्षती पुर्याउन सक्ने उनको बुझाई छ ।
राष्ट्र बैंकले अहिले बैंकहरुको सेयर बजारमा एक्सपोजर के हो भनेर हेर्नु पर्ने उनको सुझाव रहेको छ । “राष्ट्र बैंकले व्यक्तिहरुलाई भन्दा पनि बैंकहरलाई नियमन गर्नुपर्छ,” उनले भने,“बैंकको कर्जा दिने व्यवस्थामा सिङ्गल बरोअर अब्लिगेसन नराखेको भए राम्रो हुन्थ्यो ।” यो विषयलाई हटाउन भनेर समेत आफुले सुझाइ सकेको पनि उनले बताए ।
सेयर लगानीकर्ताहरुले ब्याजदर सस्तो हुन्छ अनि बैंकबाट ऋण लिन्छौँ र लगानी गर्छौँ भनेर सोच्नु नहुने उनी बताउँछन् । “बैंकहरुमा रहेको लगानीयोग्य पुँजी सबै उपयोग भइसकेको छ,”उनले भने,“अहिले बैंकहरुलाई कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा राख्न धौ धौ परिसकेको अवस्था छ । बैंकमा निक्षेपको वृद्धि दर अझै कर्जाको वृद्धिदर भन्दा थोरै छ । यो बेला ब्याजदर घट्दैन ।”
अब सेयरबजारमा लगानी गर्नेहरुले सेयरलाई केही समय होल्ड गरेर राखी राख्न समेत उनले सुझाए । अहिलेको समयमा अत्तालिएर नबेच्न समेत उनले आग्रह गरेका छन् । “सेयर नबेचे भाउ घट्दैन,” उनले थपे,“ जबरजस्ती बेच्नु कसले भनेको छ र ?” अति अल्पकालीन, अर्काको पैसा सापटी लिएर अथवा बैंकबाट कुनै न कुनै शीर्षकबाट सापटी लिएर, कम ब्याजदरमा सापटी लिएर धेरै लगानी गरेको छ भने व्यवस्थापन गर्न अलि कठिनाइ हुने उनले जानकारी दिए ।
सेयर बजारलाई उत्ताउलो हुन दिन नहुने बताउँदै उनले बजार घट्न थालेपछि एउटा विन्दुमा आएर अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्ड बसेर यो भन्दा तल जान दिनु हुँदैन भनेर लगानीकर्ताहरुलाई मनोवैज्ञानिक बल प्रदान गर्नुपर्ने औल्याए । खासगरी सेयरबजारका स्टेकहोल्डरले लगानीकर्तालाई संयम हुन भन्दै धैर्य गर्न आग्रह गर्नुपर्ने उनले बताए । त्यतीमात्र नभई अर्थतन्त्र ठिक ठाउँमा आउँछ, हामीले काम गरिरहेका छौँ भनेर एउटा सकरात्मक सन्देश दिनुपर्नेमा त्यसको पनि नगरेको उनले आरोप लगाए । अर्थमन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरु नै हामी नै खाल्डोमा पर्दै छौँ, बिग्रिँदै छौँ भनेपछि लगानीकर्ताहरु डराउनु स्वभाविक रहेको बताए ।
सेयर लगानीकर्ताले अर्कोले के गरिरहेको छ भनेर हेर्ने नभई आफुले लगानी गर्न लागेको कम्पनीको अवस्था, नेटवर्थ लगायतका सुचकहरुको अध्ययन गर्नुपर्ने उनले सुझाए । उनले सात वर्ष सम्म पनि ब्रेक इभनमा पुग्छौँ नभनेको कम्पनीको सेयर मूल्य ७ सय देखि एक हजार २ सयसम्म पुगेको बताउँदै प्रश्न गरे,“यस्ता कम्पनीमा लगानी गरेर कहिले प्रतिफल लिने ? कहिले त्यो पैसा उठाउने ?” यस्तो विषयमा लगाीकर्ता कमसेकम सेयरबारे जानकारी लिने, धीतो पत्र बोर्डले पनि जानकारी दिने, उपभोक्ता सचेतना सम्बन्धी काम गर्नु पर्ने उनको बुझाइ छ ।
(पुर्व अर्थमन्त्री डा. खतिवडाले टेलिभिजन कार्यक्रम एपिसेन्टरमा व्यक्त गरेका विचारमा आधारित)
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया