उत्पादन बढाउने क्षेत्रमा स्वदेशी र विदेशी लगानी भित्र्याउने प्रकृयामा छौंः उद्योगमन्त्री

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले सरकार उत्पादन बढाउने क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने प्रकृयामा रहेको बताएका छन् ।

गैर आवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडुले औधोगिक क्षेत्रमा स्वदेशी मात्र नभई विदेशी लगानी समेत कसरी आउँछ भनेर कार्य गरिरहेको बताए ।

विभिन्न देशका नवनियूक्त राजदूतहरुसँग पनि सरकारले लगानी भित्र्याउनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिँदै मन्त्री बडुले भने, “राजदूतहरुलाई समेत आर्थिक कुटनीतिमा केन्द्रित हुन निर्देशन दिइएको छ ।” सरकारले विदेशी लगानी आकर्षित गर्न विभिन्न व्यवस्था गरेको जानकारी दिँदै उनले यसले वैदेशिक लगानी बढ्ने उल्लेख गरे । लगानी आकर्षित गर्नकै लागि सरकारले भूमि सम्बन्धी व्यवस्थामा पुनरावलोकन कार्य अगाडि बढाएको उनले जानकारी दिए ।

सरकारले बजेटमा भएको व्यवस्था अनुरुप ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न ४ तहमा सरकारी स्वामित्वमा रहेका जग्गा जमिन ४० वर्षसम्म भाडा (लिज) मा दिनसक्ने नयाँ व्यवस्था गरेको छ ।

विदेशी कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघका निकाय, नेपाल पक्ष रहेका अन्तर सरकारी सङ्गठन, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत स्थापना भएका विश्वविद्यालय, बोर्ड समिति वा अन्य स्वायत्त संस्था, प्रचलित कानुन बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा दर्ता भएका कुनै पनि संस्था वा व्यक्तिले सरकारी जग्गा उपभोग गर्न पाउनेछन् ।

सरकारले त्यस्ता जग्गा अल्पकालीन रुपमा ५ वर्ष, मध्यकालीन रुपमा १५ वर्ष र दीर्घकालीन रुपमा ४० वर्षसम्म लिजमा दिनेसक्ने व्यवस्था गरेको थियो ।यस्तै सरकारले देशको ब्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने विभिन्न वस्तुमा निर्यात अनुदानमा वृद्धि गरेको, तथा विद्युत महसुलमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उल्लेख गरे ।

यसैगरी चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले स्टिल, सिमेन्ट, क्लिंकर, जुत्ताचप्पल, प्रशोधित पिउने पानी तथा सूचना प्रविधिमा आधारित सेवा निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेका थिए । हाल सरकारले २७ वटा वस्तुमा निर्यात अनुदान दिँदै आएकोमामाथिका वस्तुको निर्यातमा अनुदान बढाइएको हो ।

यस्तै मन्त्री बडुले वैदेशिक लगानी भित्र्याउनका लागि स्थापना भएको एनआरएन डेभलपमेन्ट फण्डमा सरकारले १ अर्ब लगानी गर्ने सुनिश्चितता गरिसकेको र थप १ अर्ब ठूला लगानीकर्ताहरुबाट संकलन गर्ने क्रममा ८० करोड बढी संकलन भैसकेको अवस्थामा बाँकी ८ अर्ब रुपैयाँ संकलनमा एनआरएनएहरुबाट स साना लगानीकर्ताहरुबाट संकलन गर्न सके सहजै पुग्ने धारणा व्यक्ति गरे । एनआरएनएहरुबाट नेपालमा लगानीका लागि पहल भए ५० देखि ८० अर्ब रुपैयाँसम्म संकलन गर्न कुनै कटिनाई नहुने उनको भनाई छ ।

नेपालमा एनआरएन डेभलपमेन्ट फण्डमार्फत दश अर्ब लगानी भित्र्याउने सम्बन्धमा अर्थमन्त्री जनार्दश हर्माको राजीनामापछि केही ढिलाई भएपनि सरकारले अगाडि बढाउने बताउँदै उनले भने, “राज्य रोकिँदैन, हामी रोँिदैनौं, अर्थमन्त्री नभएपनि काम अगाडि बढाउन सकिन्छ । हामी एउटा निष्कर्षमा पुर्याएर छाड्छौं । ”

सरकार वैदेशिक लगानी भित्र्याउन कानुनी कठिनाई भए फुकाउन तयार रहेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउने कुरामा सरकार प्रतिबद्ध रहेकाले निराश हुन नदिने उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।