बेलायती उद्योग तथा व्यवसायको आर्थिक वृद्धि दर ३ महिनासम्म शून्य रहने

0
Shares

बेलायती उद्योग तथा व्यवसायहरुको आगामी ३ महिनासम्मको आर्थिक वृद्धि दर शून्य हुने प्रक्षेपण गरिएको छ ।

बेलायतको मुद्रास्फीति दर ९.४ प्रतिशत रहेको छ । इन्धन तथा खाद्यान्नको मूल्य आकाशिँदा मूल्यवृद्धि ४० वर्ष यताकै उच्च हुन पुगेको छ । महंगी बढेसँगै उपभोक्ताहरु मारमा परेका छन् भने कच्चा पदार्थको मूल्य उच्च हुँदा उद्योग प्रभावित हुन पुगेका छन् ।

यस अघि ब्रिटिश उद्योग परिसंघले जुलाई महिनादेखि उद्योग तथा व्यवसायहरुको आर्थिक वृद्धि दर जुन महिनाको तुलनामा बढ्ने प्रक्षेपण गरेको थियो । तर हालै सार्वजनिक गरिएको उपभोक्ता मूल्य सूचांक ९.४ प्रतिशत पुगेपछि उद्योगहरुको आर्थिक वृद्धि दर प्रक्षेपण शून्य प्रतिशतमा पुगेको छ ।

परिसंघका अर्थशास्त्री अल्पेश पलेजाले महंगी बढेसँगै प्राइभेट सेक्टरका गतिविधि सुस्त गतिमा अघि बढेको र आर्थिक गतिविधिमा कमी आएसँगै आर्थिक वृद्धि कम हुने बताएका छन् ।

मूल्यवृद्धि नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंक बैंक अफ इङ्गल्यान्डले ०.५ प्रतिशतले ब्याजदर बढाई १.७५ प्रतिशत पु¥याएको छ । बेलायती केन्द्रीय बैंकले सन् १९९५ यताकै उच्च हुने गरी ब्याजदर बढाएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न बढाएसँगै बेलायती अर्थतन्त्र खुम्चिने खतरा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।