स्टील, गहुँ, चिनी जस्ता सामाग्रीको निर्यातमा रोक लगाएता पनि भारतको आयातमा भने कमी आएको छैन । निर्यातमा रोक र आयात बढ्दै जाँदा भारतको व्यापार घाटा बढ्दै गएको हो ।
वाणिज्य तथा उद्योग मन्त्रालयद्धारा हालै प्रकाशन भएको तथ्यांक अनुसार भारतको व्यापार घाटा यो वर्षको अप्रिल–जुलाई त्रैमासमा बढेर ३१ अर्ब २ करोड डलर हुन पुगेको छ ।
गत वर्षको अप्रिल–जुलाई त्रैमासमा व्यापार घाटा १० अर्ब ६३ करोड डलर मात्रै थियो भने अहिले व्यापार घाटा तीन गुणाले बढेको छ । व्यापार घाटा फराकिलो हुँदै जानुको कारण निर्यातमा लगाइएको रोक र उच्च आयात रहेको मन्त्रालयले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण आपूर्ति श्रृङ्खलामा उत्पन्न अवरोध, माग र आपूर्ति बीचको असन्तुलन र पूर्वी युरोप युद्धग्रस्त भएपछि विश्व बजारमा मुद्रास्फीति उकालो लागिरहेको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न विकसीत देशहरुले औसत ब्याज दर वृद्धि गरिरहेका छन् । भारतले पनि मुद्रास्फीति नियन्त्रण गर्न रिपो रेट बढाएको छ भने केही सामाग्रीको निर्यातमा रोक लगाएको छ ।
निर्यातमा रोक लगाउँदा भारतको निर्यात दर गत वर्षको तुलनामा यो वर्षको निर्यात ०.७६ प्रतिशतले खुम्चिएको छ । गतवर्षको अप्रिल–जुलाई त्रैमासमा ३५ अर्ब ५१ करोड डलर बराबरको निर्यात भएको थियो भने यो आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्यात ३५ अर्ब २४ करोड डलर बराबर भएको छ ।
निर्यातमा रोक लगाउँदा आयात भने उच्च दरमा बढेको छ । गत वर्षको अप्रिल–जुलाई त्रैमासको तुलनामा यो वर्षको त्रैमासमा आयात ४३.५९ प्रतिशतले बढेको छ । गत वर्षको अप्रिल–जुलाई त्रैमासमा कुल आयात ४६ अर्ब १५ करोड डलर बराबरको आयात भएकोमा यस वर्षको दोस्रो त्रैमासमा बढेर ६६ अर्ब २६ करोड डलर पुगेको छ ।
हालै ब्लुमबर्गले गरेको सर्वेले भारतमा आर्थिक मन्दीको सम्भावना न्युन रहेको जनाएको थियो । आयातमा भएको वृद्धि र फराकिलो हुँदै गएको व्यापार घाटालाई केलाउँदा भारतीय अर्थतन्त्र पूर्णरुपमा स्वस्थ नरहेको पुष्टि हुन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया