नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र दलाल व्यवसायीको अनुमती जाँच लिएर दिन नहुने बताएका छन् । दलाल कम्पनीको अनुमती परिक्षा लिएर पास भएको आधारमा दिदाँ तजबिजी हुने तर्क उनले राखेका हुन ।
धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल कम्पनीलाई अनुमती दिन भन्दै २० करोड देखि १५० करोड चुक्ता पुँजी व्यवस्था गर्दै धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरी स्वीकृतीका लागि अर्थमन्त्रालय पठाएको छ । सोही विषयलाई थप व्यख्या गर्दै अध्यक्ष हमालले प्रश्न गरे,“जाँच दिएर धितोपत्र दलाल कम्पनी पास गर्ने प्रणाली पनि हुन्छ ?”
धितोपत्र व्यवसायीलाई ओपन इन्ट्रि र ओपन एक्जीटको व्यवस्था गर्न नियमावली संशोधन गरेको उनले बताए । “पुँजीगत आधार धेरै राखिनुको कारण अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को क्षमता १७० दलाल कम्पनी मात्र धान्न सक्ने छ,” उनले भने,“सबै आउन सक्ने व्यवस्था गर्दै गर्दा नेप्सेको क्षमता भन्दा धेरै ब्रोकर नआउन भनेर क्राइट एरिया ठुलो राखिएको हो ।” उनले धितोपत्र दलाल व्यवसायमा पनि स्वस्थ्य प्रतिस्पर्धा र गुणस्तरीय सेवा हुनुपर्नेमा नै धितोपत्र बोर्डको जोड रहेको जानकारी दिए ।
त्यसैगरी बोर्ड अध्यक्ष हमालले कुरिअर कै जस्तो बोर्डका सेवा ग्राहीले पनि आफ्नो फाइन कुन विभागमा कुन प्रक्रियामा छ भन्ने जानकारी पाउने व्यवस्था गर्न लागेको जानकारी दिए । धितोपत्र बोर्ड चलेको नै सेवाग्राहीका कारण भएकाले उनीहरुले आफ्नो कामको प्रगती विवरण लिने व्यवस्था गरिने बताए ।
उनले कमोडिटी एक्सचेन्ज यहि वर्ष नै सञ्चालनमा आउने बताउँदै सरकार समेत सकारात्मक रहेको उल्लेख गरे । हमालले आगामी दुई महिना भित्र साना तथा मझौला कम्पनीको छुट्टै कारोबार गर्ने संयन्त्रको विकास गरीने जानकारी दिए । उनले निजी क्षेत्रका सबल कम्पनीलाई पुँजी बजारमा ल्याउनका लागि बुक विल्डिङ विधि कार्यान्वयन गर्नु पर्ने बताए । विगतको जस्तो दुर्घटना अब नहुनेमा धितोपत्र बोर्ड धेरै सचेत रहेको उनको भनाई छ ।
सेयर बजारमा सम्बद्ध पक्षको बैद्धिक स्तर विकास र विस्तारका लागि क्यापिटल मार्केट इन्ष्टिच्यूटको स्थापना गरीने समेत उनले बताए । उनले यो वर्ष भित्र इन्ष्टिच्यूटको उद्घाटन हुने ठोकुवा समेत गरे ।
सेयर लगानीकर्ताले विश्वास गरेको हुनाले धितोपत्र बोर्ड, नेप्से लगायतका संस्थाहरुको अस्तित्व रहेको अध्यक्ष हमालको भनाई छ । त्यसैगरी धितोपत्र बजारको विकास तथा विस्तारका लागि कुनै एक पक्षले चाहेर मात्र नहुने भएकाले सबैलाई एक ठाँउमा आउन समेत उनले अनुरोध गरे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया