थोक मूल्यवृद्धि नियन्त्रणमा आउँदा भारतमा उपभोक्ता मूल्य सूचांक ६.७१ प्रतिशत

0
Shares

भारतमा जुलाई महिनाको थोक मूल्यवृद्धि दर १३.९३ प्रतिशत रहेको तथ्यांक उद्योग तथा वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

मे महिनामा अहिले सम्मकै उच्च हुने गरी १६.६३ प्रतिशत रहेको थोक मूल्यवृद्धि दर जुलाईमा १३.९३ प्रतिशत हुन पुगेको छ । थोक मूल्यवृद्धि दरमा नियन्त्रण आउँदा खुद्रा मूल्यवृद्धि दर (उपभोक्ता मूल्य सूचांक) ६.७१ प्रतिशत रहेको छ ।

खाद्यान्न, पेट्रोलियम पदार्थ, कच्चा पदार्थ तथा रासायनिक मलको मूल्यमा वृद्धि भएका कारण थोक मूल्यवृद्धि दर गतवर्षको तुलनामा बढी रहेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । गतवर्ष जुलाईको थोक मूल्यवृद्धि दर ११.५७ प्रतिशत रहेको थियो ।

जुलाई महिनामा खाद्यान्नको मूल्य १०.७७ प्रतिशतले कम भएको छ भने तरकारीको मूल्य जुन महिनाको तुलनामा १८.२५ प्रतिशतले कम भएको छ ।

यसैगरी जुन महिनाको मूल्यमा फलफूलको मूल्य २९.४४ प्रतिशतले बढ्न पुगेको छ । यसैगरी दुग्धजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले कम भएको छ । गहुँ तथा गेडागुडीको मूल्य क्रमश ९.७६ प्रतिशत र १३.६१ प्रतिशतले बढेको छ।

यसैगरी पेट्रोलियम पदार्थको मूल्यमा पनि कमी आएको छ । पेट्रोलियम पदार्थको मूल्य गत महिनाको तुलनामा ५५.३० प्रतिशतले कमी आएको छ भने एल्पीजी ग्यासको मूल्य ३२ प्रतिशतले कम भएको छ ।

खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण थोक उपभोक्ता मूल्यवृद्धि दर गत महिनाको तुलनामा जुलाईमा नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।