अमेरिकाले २० हजार डलर सम्मको शैक्षिक कर्जा मिनाह गर्दै

0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले २० हजार डलर सम्मको शैक्षिक कर्जा मिनाह गर्ने ऐतिहासिक निर्णय गरेका छन् ।

शिक्षा स्तरीय जीवनयापनको एक कडी भएको र त्यहि शिक्षा कैयन निम्न तथा मध्यम वर्गीय अमेरिकीहरुको लागि महंगो भएको बताउँदै बाइडेनले शैक्षिक कर्जा मिनाह गर्ने नीति अघि सारेका हुन् ।

यसका साथै बाइडेनले शैक्षिक कर्जा भुक्तानी गर्ने समयावधि पनि बढाइदिएका छन् । बाइडेनको यस निर्णयबाट प्रत्यक्ष रुपमा मध्यम तथा निम्न वर्गीय परिवारका विद्यार्थीहरुलाई राहत मिलेको छ ।

ती विद्यार्थी जसको आय वर्षमा १ लाख २५ हजार डलर भन्दा कम छ, उक्त विद्यार्थीहरुले शैक्षिक कर्जा मिनाह पाउनेछन् । यसैगरी शिक्षा विभागबाट कर्जा लिएका र पेल ग्रान्ट पाइरहेका विद्यार्थीहरुले २० हजार डलर शैक्षिक कर्जा मिनाह पाउनेछन् । त्यसैगरी शिक्षा विभागबाट कर्जा लिएका तर पेल ग्रान्ट नपाएकाहरुले १० हजार डलर सम्मको शैक्षिक कर्जा मिनाह पाउने छन् ।

बाइडेनले लक्षित गरेका विद्यार्थीहरुको आम्दानी कोभिड–१९ महामारीका कारण घटेको जनाएका छन् । वार्षिक रुपमा १ लाख २५ हजार डलर आम्दानी गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा मिनाह गरिदिने भएता पनि विभिन्न समस्याका कारण उनीहरुले गर्ने आम्दानी ७५ हजार डलरमा पुगेको जनाएका छन् ।

४० वर्ष यताकै उच्च मुद्रास्फीति भएको बेला बाइडेनको यो निर्णयले मुद्रास्फीतिलाई अझ बढाउने र डेमोक्रयाट्सहरुले मुद्रास्फीति नियन्त्रण गर्ने नीति बनाएपनि उल्लेख्य रुपमा मुद्रास्फीति नियन्त्रण नहुने आलोचकहरुको भनाइ रहेको छ । बाइडेनको उक्त निर्णय मध्यम तथा निम्न वर्गलाई प्राथमिकतामा राखी गरेको हुँदा उक्त वर्गका मानिसहरुले प्रशंसा गरिरहेका छन् भने आलोचना पनि भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।