श्रीलंकालाई २ अर्ब ९० करोड डलर ऋण दिन आइएमएफ तयार

0
Shares

वित्तीय रुपमा टाट पल्टिएको श्रीलंकालाई ऋण दिन अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रारम्भिक रुपमा तयार भएको छ ।

पटक पटकको वार्तापछि आइएमएफ श्रीलंकालाई २ अर्ब ९० करोड अमेरिकी डलर ऋण दिन प्रारम्भिक रुपमा तयार भएको हो ।

श्रीलंकालाई ऋण दिन आइएमएफको व्यवस्थापकीय र कार्यकारी समितिबाट सम्झौता अनुमोदन हुन आवश्यक छ । प्रारम्भिक चरणमा श्रीलंकासँग पहिले गरिएका सम्झौताको आधारमा स्टाफ तहबाट मात्रै अनुमोदन भएको छ ।

यसै क्रममा आइएमएफका वरिष्ठ अधिकारी पिटर ब्रुअर भन्छन्, “स्टाफ तहबाट सम्झौता अनुमोदन भएता पनि ऋण पूर्ण रुपमा प्राप्त गर्नका श्रीलंकालाई लागि धेरै समय लाग्ने छ । ”

ऋण प्रक्रिया अघि बढाउनका लागि आइएमएफलाई श्रीलंकाका आधिकारिक ऋणदाताहरुले वित्तीय सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ । यसका साथै नीजी क्षेत्रका ऋणदाताहरुले वित्तीय सुरक्षाका निम्ति सहकार्य गर्ने सम्झौता पनि पेश गर्नुपर्ने छ ।

श्रीलंकाले ऋण सम्झौता पारित गर्नका लागि श्रीलंकाका ऋणदाताहरूबाट ऋण राहतपत्र तथा अरु साझेदारहरूबाट हुने वित्तीय सहयोगको सुनिश्चितता पत्र आवश्यक रहेको आइएमएफले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।