श्रीलङ्काको अन्तरिम बजेट पारित, पूर्व अर्थमन्त्रीलाई विदेश भ्रमणको अनुमति

0
Shares

श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ ।

बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए ।

मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) बाट अलग्गिएका सांसदहरूको एक समूह रहेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अगष्ट ३० मा संसदमा अन्तरिम बजेट प्रस्तुत गरेका थिए ।

जुलाईमा विक्रमासिङ्घेले अर्थव्यवस्थालाई स्थिर बनाउने र सामाजिक सुरक्षाको दायरा बढाउने नीतिहरू कार्यान्वयन गर्नका लागि अगस्टमा अन्तरिम बजेट प्रस्तुत गरिने प्रतिवद्धता राष्ट्रपति निर्वाचित भए लगत्तै गरेका थिए ।

श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई विदेश भ्रमणको अनुमति

श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि विदेश भ्रमणका लागि अनुमति दिएको छ ।

राजापाक्षका वकिलले राजापाक्षलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्राका लागि अनुमति दिएको हो ।

यस पहिले, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

वर्तमान सरकारले जारी आर्थिक सङ्कटका लागि जिम्मेवार सबै व्यक्तिहरूविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई वटा मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो ।

विदेशी मुद्राको अभावका कारण इन्धन, औषधि र खाद्य वस्तुजस्ता अत्यावश्यक सामग्रीको अपर्याप्त आपूर्तिका कारण श्रीलङ्काले अहिले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।