पाकिस्तानका विभिन्न भागमा बितेका दुई महिनामा अविरल वर्षासँगै आएको बाढीबाट देशको भौतिक संरचनामा अकल्पनीय क्षति भएको छ । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
देशका ११८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत गरिबीमा धकेलिएको छ । बढीमा परी १ हजार ३१४ जनाको मृत्यु भएको छ भने १२ हजार ७०३ जना घाइते भएका छन् । तीन करोड ३० लाखभन्दा बढी जनसंख्या प्रभावित भएका छन् । हरेक ७ जना पाकिस्तानी नागरिकमा १ जना बाढीपहिराबाट पीडित भएका छन् ।
बितेका २४ घण्टामा बाढीले बगाउँदा २४ जनाको ज्यान गएको तथा ११५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीन जनाको मृत्यु भएको तथा पञ्जाव प्रान्तमा एक जनाले प्राण त्यागेका र एक सय सात जना घाइते भएका प्राधिकरणले आइतबार राति जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ । बलुचिस्तान, गिलगिट र बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन् ।
खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले ३ हजार ४५७ किलोमिटर सडक बगाएको, १५९ पुल भत्काएको, २० लाख एकड भन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, १९५ पसल बगाएको, ९ लाख ५९ हजार ८५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।
हालसम्म ७१ हजार २७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपत्काल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको छ । सरकारी एवं गैरसरकारी संस्थाले उक्त केन्द्रसँगको समन्वयमा राहत तथा उद्धारका काम गरिरहेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया