येन चौबिस वर्षयताकै कमजोर भएपछि जापानी केन्द्रीय बैंकले थाल्यो हस्तक्षेप

0
Shares

जापानी येन डलरसँगको विनिमयमा २४ वर्ष यताकै कमजोर हुन पुगेपछि येनलाई थप कमजोर हुन नदिन जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले हस्तक्षेप गर्ने तयारी सुरु गरेको छ ।

जापानी समाचार माध्यम निकेईका अनुसार, बैंक अफ जापानले डलरसँगको विनिमय दरको बारेमा अध्ययन गर्न सुझाएको हो । आज १ डलर बराबर १४४.४४ येनमा विनिमय भइरहेको छ । २४ वर्ष यताकै कमजोर हुन पुगेको येन यो वर्ष मात्रै २० प्रतिशतले अवमूल्यन हुन पुगेको हो ।

विश्वव्यापी रुपमा मुद्रास्फीतिको समस्या बढ्दै गएको समयमा जापानले अवलम्बन गरेको विस्तारकारी नीतिका कारण पनि जापानी येन कमजोर हुँदै गएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न जापानी केन्द्रीय बैंकका समकक्षी फेडरल रिजर्भ, बैंक अफ इङ्ल्यान्ड, युरोपियन केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाइरहेको समयमा जापानले ऋणात्मक ब्याजदर कायम गरिरहँदा लगानीकर्ताहरुका लागि जापानी येन लगानीको आकर्षण बन्न छाडेको छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले औसत ब्याजदर बढाइरहँदा डलरको मूल्य आकासिएको छ । आकासिएको डलरतर्फ लगानीकर्ताहर थप आकर्षित बन्दै जाँदा जापानी येन दिनानुदिन कमजोर हुन पुगेको हो ।

यसै सन्दर्भमा जापानी नीतिकर्ताहरुले बैंक अफ जापानलाई विनिमय दर व्यवस्थापन गर्नका निम्ति हस्तक्षेप गर्न सुझाएका छन् । नीतिकर्ताहरुको उक्त सुझावलाई मनन् गर्दै बैंक अफ जापानले विनिमय दरको बारेमा अध्ययन गर्न निर्देशन दिएको छ ।  यसै सन्दर्भमा नोरिनचुकिन रिसर्च इन्स्टीच्युटका प्रमुख अर्थशास्त्री टोकेशी मिनामीले वाणिज्य मन्त्रालयले येनको अवमूल्यन हुन नदिन मौखिक आश्वासन दिएता पनि कुनै कार्य नगर्ने जनाएका छन् ।

यस अघि सेप्टेम्बर ७ मा पनि सरकारपक्षका वरिष्ठ प्रवक्ता हिरोकाजु मत्सुनोले येन १४३ भन्दा थप कमजोर हुँदै गएमा सरकारले हस्तक्षेप गर्ने जानकारी दिएका थिए । यसैगरी जुन १०मा जापानी सरकार र केन्द्रीय बैंकले येनमा आएको अवमूल्यन कम गर्न साझा रुपमा विज्ञप्ति जारी गरेका थिए ।

यसअघि सन् २०११ को मार्च महिनामा भूकम्प र सुनामीका कारण अर्थतन्त्र कमजोर हुन्छ भनी केन्द्रीय बैंक तथा जापान सरकारले अर्थतन्त्र स्थीर पार्न हस्तक्षेप गरेको थियो । त्यतिबेला जी–७ राष्ट्रहरुले पनि मुद्रा स्थीरिकरणमा जापानलाई सहयोग गरेका थिए ।
विभिन्न समयमा मुद्रा कमजोर हुँदा जापानी सरकारले फेडरल रिजर्भ, युरोपियन केन्द्रीय बैंकको सहयोग लिई हस्तक्षेप गर्दै आएको छ । यस अघि सरकारी हरुतक्षेपले येनको मूल्य स्थायीत्व कायम गर्न सघाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।