अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा आर्थिक मन्दी हुनसक्ने वर्ल्ड बैंकको चेतावनी

0
Shares

मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भ लगायतका केन्द्रीय बैंकहरुले आक्रमक रुपमा ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने चेतावनी वर्ल्ड बैंकले दिएको छ । पछिल्लाे समय विश्वव्यापी रुपमा अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेका छन् ।  

पछिल्लो ४० वर्ष यताकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न विकासीत मुलुकहरुका केन्द्रीय बैंकहरुले पाँच दशक यताकै उच्च हुनेगरी ब्याजदर बढाइरहेका छन् ।

ब्याजदर वृद्धि हुँदा कर्जा लिन थप समस्या उत्पन्न हुने र खाद्य तथा अखाद्य वस्तुको मूल्य थप बढ्ने वर्ल्ड बैंकले जनाएको छ ।

यसैगरी कर्जाको ब्याज दर उच्च हुँदा मानिसहरु कर्जा लिई व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुने हुँदा आर्थिक गतिविधि सुस्त हुने वर्ल्ड बैंकले जनाएको छ ।

बैंकले उक्त चेतावनी अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ, बेलायती केन्द्रीय बैंक–बैंक अफ इङ्गल्यान्ड र बैंक अफ जापानको मौद्रिक नीति निर्माण सम्बन्धी बैठक बस्नुअघि दिएको हो ।

विश्व अर्थतन्त्र सन् १९७० को आर्थिक मन्दी पछिको जीर्ण अवस्थामा पुगेको र बलियो अर्थतन्त्र मानिएका राष्ट्रहरु-अमेरिका, चीन र युरोपको आर्थिक वृद्धि दर घट्दो क्रममा हुनाले विश्वव्यापी अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको वर्ल्ड बैंकले जनाएको छ ।

आर्थिक मन्दीको सम्भावना उच्च रहेको जानकारी गराउँदै वल्र्ड बैंकले केन्द्रीय बैंकहरुलाई सहकार्य गरी अघि बढ्न र मौद्रिक नीतिलाई प्रष्ट रुपमा लागू गर्न सुझाव दिएको छ । तथापि केन्द्रीय बैंकहरु स्वायत्त संस्था रहेका कारण आफ्ना समकक्षीहरुसँग मिलेर नीति बनाउँदैनन् ।

विश्वव्यापी अर्थतन्त्र नै संकटग्रस्त दिशामा निर्देशित हुन पुगे मात्रै केन्द्रीय बैंकहरुले नीति निर्माण तथा अवलम्बनमा संयुक्त कार्य गर्ने गरेका छन् । यसअघि सन् २००७ मा भएको आर्थिक मन्दी र लेम्यान ब्रर्दश इन्भेस्टमेन्ट बैंक कोल्याप्स हुँदा सबल अर्थतन्त्र भएका राष्ट्रका केन्द्रीय बैंकहरुले सहकार्य गरी नीति निर्माणको काम गरेका थिए ।

रुस–युक्रेन बीचको युद्ध लम्बिँदै जाँदा खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जाने हुँदा मूल्यवृद्धि नियन्त्रणमा केन्द्रीय बैंकहरु एकजुट भई अघि बढ्नुपर्ने वर्ल्ड बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।