डलरको तुलनामा भारु अहिले सम्म कै कमजोर भएपछि आरबीआईको कदम के होला ?

0
Shares

डलरसँगको विनिमयमा भारतीय रुपैयाँ आज १ डलर बराबर ८१.२६ रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी डलर र भारुको उच्चतम विनिमय दर १ डलर बराबर ८० रुपैयाँमा सिमित गरिएता पनि डलर शक्तिशाली हुँदा रुपैयाँ कमजोर हुन पुगेको हो ।

यस अघि कमजोर भएको रुपैयाँलाई बलियो बनाउन र विनिमय दरलाई ८० रुपैयाँ कायम गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले हस्तक्षेप गर्ने गरेको छ । भारु अहिले सम्म कै कमजोर अवस्थामा पुगेको बेला आरबीआईको सुधारात्मक कदम के होला भन्ने चर्चा चारै तिर भइरहेको छ ।

केन्द्रीय बैंकका जिम्मेवारी मध्येको एक कार्य भनेको सन्तुलित विनिमय दर कायम गर्नु रहेको छ । विदेशी विनिमयमा सन्तुलन कायम गर्नुलाई भारतीय केन्द्रीय बैंक, आरबीआईले आफ्नो मुख्य जिम्मेवारी ठान्दै आएको छ र भारु कमजोर हुँदा विभिन्न समयमा हस्तक्षेप गर्ने गरेको छ ।

विनिमय दर सन्तुलनमा राख्न आरबीआईले डलर किन्ने र बेच्ने काम गर्छ । भारु कमजोर भएको समयमा डलरको बिक्री गरी र भारु बलियो भएको समयमा डलरको खरिद गरी विनिमय दर सन्तुलनमा राख्ने गरेको छ ।

सात वर्ष यताकै कमजोर भएको भारुको मूल्य बढाउन र विदेशी विनिमय दर सन्तुलनमा राख्न आरबीआई सेप्टेम्बर महिनासम्म ३८ अर्ब ७७ करोड अमेरिकी डलर बिक्री गरेको छ । निरन्तर भारुको अवमूल्यन भइरहँदा आरबीआईले फेरी पनि डलर बिक्री गरी बजारमा डलरको आपूर्ति बढाउने देखिन्छ ।

सेप्टेम्बर महिनामा भारतको विदेशी सञ्चिति दुई वर्ष यताकै कमजोर हुन पुगेको छ । सेप्टेम्बर महिनाको पहिलो साता ५ खर्ब ५० अर्ब रहेको विदेशी सञ्चिति दोस्रो हप्तामा घटेर ५ खर्ब ४५ अर्ब ६५ करोड २० लाख अमेरिकी डलर रहेको छ।

अन्तराष्ट्रिय बजारमा डलरको मूल्य बढ्दै जाँदा भारु कमजोर हुँदा आरबीआईले हस्तक्षेप गर्दा विदेशी सञ्चितिमा कमी आएको विज्ञ तथा विश्लेषकहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।