अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२३ मा विकसीत देशहरुमा आर्थिक मन्दी हुने सम्भावना उच्च रहेको जनाएको छ ।
विकसीत देशहरु जस्तै अमेरिका, बेलायत, युरोप लगायतका देशहरुमा आर्थिक मन्दी हुँदा त्यसको सोझो प्रभाव विकासशील अर्थतन्त्र जस्तै भारत, ब्राजिल लगायतका देशहरुमा पर्ने निश्चित छ ।
यसैगरी विकसीत देशहरुमा आर्थिक मन्दी हुँदा आयात निर्भर देशहरु जस्तै नेपाल, पाकिस्तान पनि समस्यामा पर्ने देखिन्छ । नेपालको आयातको अधिकांश हिस्सा भारतले ओगटेको छ । खुला सीमा भएका कारण पनि नेपाल आयातमा भारतमा नै निर्भर रहेको छ । जसकारण नेपालको वैधानिक तथा अवैधानिक आयात भारतसँग धेरै छ ।
उच्च मुदास्फीति, लम्बिँदै गरेको रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चितता तर्फ धकेलिएको छ । ४० वर्ष यताकै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिका, बेलायत लगायतका विकसीत देशहरुले ब्याजदर बढाइरहेका छन् ।
अमेरिकाले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव विश्व सेयरबजारमा परेको छ । विश्व सेयरबजार ओरालो लागेसँगै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा सेयरबजारमा सेलअफका श्रृङ्खलाहरु चलिरहेका छन् । लगानीकर्ताहरुले लगानी गरेको रकम सुरक्षीत गर्न लगानीलाई क्यासमा परिणत गरिरहेका छन् ।
अर्थतन्त्र खुम्चिदै गर्दा बेरोजगारी दर बढ्दै जानु, जागिर कटौती हुनु, जीवनयापन कठोर बन्नु स्वभाविक हो । आर्थिक मन्दीका कारण सिजर्ना भएको अस्वभाविक समयमा आफ्नो व्यक्तिगत वित्तीय अवस्था कसरी कमजार हुन नदिने त ? तलका सरल उपायहरु अपनाउँदा आर्थिक मन्दीको समयमा पनि आफ्नो आर्थिक अवस्थामा मन्दी लाग्नबाट बचाउन सकिन्छ ।
१. नयाँ सीपहरु सिक्ने
अङ्ग्रेजी एउटा कथन छ, द मोर यु लर्न, द मोर यु अर्न अर्थात् जति बढी कामहरुमा तिम्रो सिकाइ, तिम्रो दक्षता हुन्छ, त्यति नै बलियो तिम्रो खोजी हुन्छ । आर्थिक मन्दीको समयमा अर्थतन्त्रको गति व्यापक सुस्त हुन्छ । जसकारण रोजगारी गुमाउने, तलबमा कटौती हुने, भत्ताहरु नपाइने जस्ता समस्याहरु बढ्छन् । त्यसकारण यस समयमा हामीले आफ्नो स्तर वृद्धि गर्नका लागि आवश्यक सीपहरु सिक्न सकिन्छ ।
पछिल्लो समयमा कोभिड–१९का कारण ग्राफीक डिजाइनर, कन्टेनट राइटर, भिडियो एडिटर जस्ता सीपहरु भएको मानिसले मनग्य आम्दानी गर्न सफल भइरहेको छ । यी सीपहरुले आम्दानी बढाउनुका अलावा काम गर्ने कार्यालयमा आफ्नो मूल्य बढाउन पनि सहयोग गर्छ ।
२. अनावश्यक खर्च कटौती गर्ने
मानिसको असन्तुष्ट प्रवृत्तिका कारण उसका रहरहरु कहिल्यै पनि सकिदैनन् । जति धेरै कमाइ, उति धेरै आवश्यकताहरु बढिरहन्छन् । तर आर्थिक मन्दीको समयमा रोजगारी गुम्ने र रोजगारीका अवसरहरु कम हुने हुँदा अनावश्यक खर्चहरु पहिचान गरी उक्त खर्चहरु कटौती गर्न सकियो भने बुद्धिमानी हुन्छ । यसैगरी आवश्यक खर्चहरुको पनि विभाजन गरी, बचत बढाउन सकियो भने पनि आर्थिक मन्दीको समयमा केही सहजता हुन्छ ।
३. आम्दानीका स्रोतहरु बढाउने
हामीहरुको आम्दानीको स्रोत प्राय एक वा दुईमा सिमीत हुने गरेको छ । नेपाली समाजमा मूलतः एउटाले कमाउने र उक्त कमाइमा सम्पूर्ण परिवारका सदस्यले नै गुजारा गर्नुपर्ने बाध्यता छ । तसर्थ आर्थिक मन्दी जस्तो समयमा आम्दानीका स्रोतहरुलाई वृद्धि गर्न आवश्यक छ । यसका लागि पार्ट–टाइम जागिर गर्न सकिन्छ, सोसल मिडिया मार्केटिङ, डिजिटल मार्केटिङ, ग्राफीक डिजाइनिङ जस्ता कामहरु गर्न सकिन्छ ।
४. आपत्कालीन फन्डको व्यवस्था गर्ने
मानिसको जीवनमा विपत्ति सोधेर आउँदैन । तसर्थ कठिन समयमा आफ्नो गुजारा गर्नकै लागि भएपनि आपत्कालीन फन्ड स्थापना गरी केही रकम बचत गरिराख्नु पर्छ । अर्थतन्त्र शिथिल भएको समयमा आपत्कालीन फन्डहरु सहयोगी बन्न सक्छन् ।
५. आफ्नो लगानीमा कमी आउँदा हतोत्साहित नहुने
आर्थिक मन्दीको समयमा सेयरबजारमा बियरिस चक्र चल्नु स्वभाविक हुन्छ, तसर्थ आफूले लगानी गरेको कम्पनीको सेयर घट्यो भन्दैमा हतोत्साहित भएर सेयर बेच्ने र बाँकीको लगानी सुरक्षीत गर्नका लागि सम्पत्तिलाई नगदमा परिणत गर्ने मूर्खता गर्नु हुँदैन ।
मन्दी अर्थतन्त्रको एक आवश्यक चक्र हो, जुन बढीमा १८ महिना लामो हुन सक्छ । यस समय अवधिमा कम्पनीहरुको नाफामा कमी आउने, कम्पनीहरुमा तरलता अभाव हुने हुँदा कम्पनीको सेयरमा कमी आउन सक्छ, यस्तो समयमा होल्ड गरी राख्नु उचित हुन्छ ।
यसैगरी अत्यावश्यक समाग्री जस्तै खाद्यान्न, औषधी उत्पादन गर्ने कम्पनीहरुमा मन्दीको प्रभाव न्युन हुन्छ । त्यस्ता कम्पनीमा लगानी गरी आफ्नो सम्पत्ति सुरक्षीत गर्न सकिन्छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया