पहिलो चरणको रोजगारी कटौतीमा ट्वीटरले २५ प्रतिशत कर्मचारी कटौती गर्ने

0
Shares

एलन मक्सले ट्वीटर खरिद गरेपछि उनले ट्वीटरका उच्च पदाधिकारीहरुलाई पदबाट बर्खास्त गरिरहेका छन् ।

यहि क्रमलाई जारी राख्दै पहिलो चरणको रोजगारी कटौतीमा ट्वीटरले कुल कर्मचारी मध्ये २५ प्रतिशत कर्मचारीहरुलाई बर्खास्त गर्ने ट्वीटरका एक पदाधिकारीले अन्तर्राष्ट्रिय समाचार पत्रिका वासिङटन पोस्टमा जानकारी दिएका छन् ।

सन् २०२१ को अन्त्यसम्ममा ट्वीटरमा कार्यरत कर्मचारीहरुको सङ्ख्या ७ हजार रहेको थियो । ट्वीटरको मुख्य कार्यालयमा मात्रै २ हजार बढी कर्मचारी कार्यरत रहेका छन् ।

ट्वीटरका निवर्तमान प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल सहित फाइनान्स प्रमुख नेड सेगल लगायतका कर्मचारीहरुको पद बर्खास्त गरेका एलन मक्सले नोभेम्बर १ सम्ममा थप कर्मचारीहरुको रोजगारी कटौती नगर्ने जनाएका थिए । तथापि मक्सका कानुनी सल्लाहकार तथा वकिल एलेकस स्पीरोले रोजगारी कटौती गर्ने जनाएका छन् ।

मक्सले ट्वीटर खरिद गरेपछि केही नयाँ नियमहरु अघि सारेका छन् । जसअन्तर्गत भेरिफिकेसन प्रक्रिया परिवर्तन र ब्लु टिक भएका प्रयोगकर्ताहरुले ब्लु टिक यथावत राखी रहन मासिक रुपमा २० डलर तिर्नुपर्ने नियम बनाउने तयारी अघि सारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।