करोडौँ प्रशंसक र आलोचक कमाएका खर्बपति एलन मक्स सधैं विवादमा

0
Shares

विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा सर्वश्रेष्ठ स्थानमा रहने एलन मक्स सधैंभरी विवादमा परिरहने पात्र हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहेका एलन मक्स अधिकांश समय आफूले गरेका ट्वीटकै कारण विवादमा पर्ने गरेका छन् । उनले ट्वीटरमा छिनछिनमा ट्वीट गर्दै आफ्ना फलोअर्स तथा ट्वीटर प्रयोगकर्ताहरुलाई पोल गरी प्रश्न गर्ने गर्छन् । हालै ट्वीटरकै कारण उनको चर्चा चुलिएको छ ।

सन् २०२२ को अप्रिल महिनामा मक्सले सामाजिक सञ्जाल ट्वीटरको ९ प्रतिशत सेयर खरिद गरेका थिए । त्यसका लागि उनले आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर बेचेका समेत थिए । ट्वीटरको ९ प्रतिशत सेयर खरिद गरेपछि उनी सर्वाधिक सेयर होल्ड गर्ने सेयरहोल्डर बनेका थिए । ट्वीटरले उनलाई बोर्ड सदस्यका रुपमा मनोनयन प्रस्ताव समेत गरेको थियो तर ट्वीटरको प्रस्तावलाई नकार्दै उनले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर नै खरिद गर्ने पुर्नप्रस्ताव गरे ।

उनको प्रस्तावमा सहमति जनाउँदै ट्वीटरका बोर्ड सदस्यहरुले अधिग्रहण प्रक्रिया अघि सार्दै गर्दा, मक्सले सम्झौताबाट ब्याकआउट गरे । स्प्याम अकाउन्टको विवरण उपलब्ध नगराएको आरोप लगाउदै पछि हटेका मक्सलाई सम्झौता रद्द गरेकोमा अदालत जाने घोषणा गर्यो । अन्ततः अक्टोबर महिनामा अदालतको सामना गर्दै मक्सले ट्वीटर अधिग्रहण गरे ।

उनको त्यो कदम उनका लागि मात्रै नभई ट्वीटरमा काम गर्ने कर्मचारीहरुका लागि समेत सुखद सावित भएको छैन । अधिग्रहण गरेको एक हप्तामै मक्सले ट्वीटरमा कार्यरत ५० प्रतिशत भन्दा धेरै कर्मचारीहरुलाई पद बर्खास्त गरेका छन् । मक्स विवादमा तब तानिए, जब उनले पद बर्खास्त गरेका केही कर्मचारीहरुलाई पुनः कार्यालयमा आई आफ्नो कामहरु यथावत रुपमा अघि बढाउन अघि सारे ।

हालै मक्सले अकाउन्ट प्रमाणिकरण गर्न र ब्लु टिक प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले प्रति महिना ८ डलर भुक्तानी गर्नुपर्ने बताएका छन् । उनले ट्वीटरलाई अपडेट गरी भुक्तानी सहितका विशेषता थपेका छन् भने ट्वीटरको अपडेटेड भर्सन हालका लागि एप्पलको एपस्टोरमा उपलब्ध रहेको छ ।

ट्वीटरका ८० प्रतिशत प्रयोगकर्ताहरुले आफूहरुले मासिक ८ डलर भुक्तानी गर्न नसक्ने जनाएका छन् । यसैगरी १० प्रतिशत प्रयोगकर्ताहरुले मासिक ५ डलर भुक्तानी गर्न तयार रहेको जनाएका छन् । मक्सले ट्वीटरको सत्ता हातमा लिनु अघि ट्वीटरको आम्दानीको श्रोत विज्ञापन रहेको थियो । तर मक्सले ट्वीटरको आम्दानी विज्ञापन निर्भर नभई प्रयोगकर्ताहरुबाट नै संकलन गर्ने अभिव्यक्ति दिएपछि ट्वीटरका प्रयोगकर्ताहरु असन्तुष्ट मात्रै भएका छैनन्, ट्वीटरले दैनिक रुपमा ४० लाख डलर गुमाइरहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यस्तै घटनाक्रमहरुले एलन मक्सलाई विवादित व्यक्तित्वको रुपमा परिचय दिएको छ । यसैगरी ट्वीटर अधिग्रहण गरेको केही दिनमा उनले टेस्लाको ३ अर्ब ९५ करोड डलर बराबरको सेयर बिक्री गरेका छन् । ट्वीटर फाइनान्सीङका लागि मक्सले उक्त सेयर बिक्री गरेको अनुमान ट्वीटर प्रयोगकर्ता एवं अन्तराष्ट्रिय समाचार माध्यमहरुले समेत गरेका छन् ।

मक्सले टेस्लाको सेयर बिक्री गरेपछि सन् २०२२ का सुरुवाती महिनाको तुलनामा अहिले टेस्लाको सेयरमा ५० प्रतिशत भन्दा धेरै गिरावट आएको छ । मक्सको यस निर्णयले टेस्लाका अन्य सेयरहोल्डरहरु मक्ससँग रुष्ट रहेका छन् ।

एक ट्वीटले कसैको जीवत परिवर्तन गर्न सक्ने क्षमता भएका एलन मक्स क्रिप्टोकरेन्सीको परिचालक रहेका छन् । मक्सले क्रिप्टोकरेन्सी बिटकोइनबाट टेस्ला कारहरु किन्न अनुमति दिएपछि बिटकोइनको मूल्यले आकाशचुम्बी गति समातेको थियो । तर बिटकोइन माइनिङ गर्दा कार्बन उत्सर्जन बढ्ने जानकारी पाएपछि बिटकोइनबाट गर्न मिल्ने कार खरिद प्रक्रिया मक्सले रद्द गरेका थिए । जसकारण क्रिप्टोकरेन्सीको मूल्य जुन गतिमा आकाशिएको थियो, त्यहि गतिमा ओरालो समेत लाग्यो ।

मार्समा बस्ती बसाउने इच्छा देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले बजार लिइरहेको समयमा विद्युतीय सवारी साधनको अवधारणा अघि सारी उत्पादन कार्य सुचारु गरी टेस्लालाई संसारकै उत्कृष्ट विलासी विद्युतीय कार उत्पादक सावित गर्नु लगायतका एकाध महत्वाकांक्षी कामहरुले एलन मक्सलाई सफलता मात्रै होइन, करोडौँ प्रशंसक र आलोचकको भागेदार समेत बनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।