फेडले ब्याजदर नबढाउने संकेत गरेसँगै विश्व सेयर बजारमा उछाल

0
Shares

अमेरिकी फेडरल रिजर्भ (फेड) का अध्यक्ष जेरोम पावेलले डिसेम्बर महिनामा ब्याजदर नबढाउने संकेत गरेपछि विश्व सेयर बजार उकालो लागेको छ ।

सन् २०२२ को फेब्रुअरी महिनादेखि ८ प्रतिशत माथि रहेको मुद्रास्फीति दर फेडको अथक प्रयासपछि अक्टोबर महिनामा ७.७ प्रतिशतमा झरेको थियो ।

मुद्रास्फीति नियन्त्रण गर्न फेडले आक्रामक शैलीमा ब्याजदर बढाइरहेको थियो । ब्याजदरकै सम्बन्धमा डिसेम्बर महिनाको नीतिगत बैठक बस्नु अघि नै पावेलले आक्रामक रुपमा ब्याजदर नबढाउने बताएका छन् । त्यसको सकरात्मक प्रभाव विश्व सेयर बजारमा देखिएको छ ।

एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचाङ्क एमएससीआई २.४७ प्रतिशतले बढेको छ । डाउ जोन्स इन्डिस्ट्रियल एभरेज सूचाङ्क २.१८ प्रतिशतले उकालो लागेको छ । एस एन्ड पी ५०० सूचाङ्क ३.०९ प्रतिशत र नास्डाक् कम्पोजिट ४.४१ प्रतिशतले बढेको छ ।

पावेलको निर्णयको प्रभाव भारतीय सेयर बजारमा पनि परेको छ । एस एन्ड पी बीएसई सेन्सेक्स ०.६७ प्रतिशतले बढेको छ भने निफ्टी ५० सूचाङ्क ०.६३ प्रतिशतले बढेको छ । नेपालको सेयर सूचाङ्क नेप्से पनि प्रि–ओपनिङ्गमा सकारात्मक देखिएको छ । सूचाङ्क ०.२ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।