फुटबलको महाकुम्भ मेला ‘फिफा वर्ल्ड कप २०२२’ मसिंर ४ देखि कतारमा जारी छ । साना बालकदेखि वयवृद्धसम्म यसको प्रभावबाट अछुतो छैनन् । हरेक देश यो संस्करणको ट्रफी आफ्नो पोल्टामा पार्नका लागि आतुर बनेर खेल प्रदर्शन गरिरहेका छन् ।
मनोरञ्जनका लागि भनेर सुरु गरिएको फुटबल खेलबाट अहिले खेलाडीहरुले मनग्य आम्दानी समेत गरिरहेका छन् । कतिपय खेलाडीहरुले खेल खेलेर नै उद्योगी व्यवसायीहरुले भन्दा धेरै कर तिरेर आफूलाई शीर्ष करदाताको सूचीमा समेत उभ्याउन सफल भएका छन् ।
वर्ल्ड कपमा सहभागी भएका ३२ राष्ट्रहरु मध्येका खेलाडीहरुमा फ्रान्सका क्यालियन एम्बाप्पे सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर हुन् । २३ वर्षीय एम्बाप्पेले व्यवसायिक फुटबलबाट वार्षिक १२८ मिलियन डलर (१६ अर्ब ८६ करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । फुटबल क्लब पीएसजीबाट फरवार्डमा रहेर खेलिरहेका छन् । उनले फूटबालबाट ११० मिलियन र व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापनबाट १८ मिलियन आम्दानी गर्ने गरेका छन् ।
दोस्रो धेरै आम्दानी गर्ने फुटबलरहरुको सूचीमा लियोनल मेस्सी छन् । अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने मेस्सीले वार्षिक १२० मिलियन डलर (१५ अर्ब ८० करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । स्टार फूटबलर मेस्सीले फूटबल खेलेर ६५ मिलियन र व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापनहरुबाट ५५ मिलियन डलर आम्दानी गर्छन् । मेस्सी पीएसजी क्लबबाट फुटबल खेल्दै आएका छन् ।
स्टार फुटबलर क्रिटियानो रोनाल्डोले वार्षिक १०० मिलियन डलर (१३ अर्ब १७ करोड नेपाली रुपैयाँ) कमाउने गरेका छन् । ३७ वर्षीय रोनाल्डोले पोर्चुगलका फरवार्ड खेलाडी हुन् । उनले फुटबल खेलेर ४० मिलियन डलर र व्यवसायिक विज्ञापनबाट ६० मिलियन डलर आम्दानी गर्दै आएका छन् । म्यानचेस्टर युनाइटेडबाट फुटबल खेल्दै आएका रोनाल्डोले उक्त क्लबसँगको अनुबन्धन तोडेका उनी नयाँ क्लबमा प्रवेशको खोजीमा छन् ।
ब्राजिलका चर्चित खेलाडी नेमार जुनियरले वार्षिक ८७ मिलियन डलर (११ अर्ब ४६ करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । उनले फुटबल खेलेर ५५ मिलियन र प्रवर्द्धनात्मक विज्ञापनहरुबाट ३२ मिलियन डलर आर्जन गर्दै आएका छन् । ३० वर्षीय नेमारले पीएसजी क्लबबाट फुटबल खेल्दै आएका छन् ।
इजिप्टका खेलाडी मोहम्मद सलाहले वार्षिक ५३ मिलियन डलर (६ अर्ब ९८ करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । ३० वर्षे सलाह लिभरपूल क्लबबाट फुटबल खेल्दै आएका छन् । उनले फुटबल खेलेर ३५ मिलियन डलर र अन्य व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापन मार्फत १८ मिलियन डलर बराबरको आम्दानी गर्दै आएका छन् ।
म्यान्चेस्टर सिटीका खेलाडी एर्लिङ हालान्डले वार्षिक ३९ मिलियन डलर (५ अर्ब १३ करोड नेपाली रुपैयाँ) आम्दानी गर्ने गरेका छन् । हालान्डले फुटबल खेलेर ३५ मिलियन र प्रवर्द्धनात्मक गतिविधिहरुबाट ४ मिलियन डलर कमाउने गरेका छन् ।
बार्सिलोना क्लबका रोर्बट लेवनडोस्कीले वार्षिक ३५ मिलियन डलर (४ अर्ब ६१ करोड नेपाली रुपैयाँ) आम्दानी गर्दै आएका छन् । ३४ वर्षे लेवनडोस्कीले फुटबलबाट २७ मिलियन र अन्य व्यवसायिक विज्ञापनहरुबाट ८ मिलियन डलर आर्जन गर्दै आएका छन् ।
बेल्जियमका एडेन हाजार्डले वार्षिक रुपमा ३१ मिलियन डलर (४ अर्ब ८ करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । उनले फुटबल खेलेर २७ मिलियन र व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापन मार्फत ४ मिलियन डलर कमाउने गरेका छन् । ३१ वर्षीय हाजार्ड रियल म्याड्रिड क्लबबाट फुटबल खेल्छन् ।
स्पेनका एन्डेस इन्एस्ताले कुल ३० मिलियन डलर (३ अर्ब ९५ करोड नेपाली रुपैयाँ) आम्दानी गर्छन् । उनले फुटबल खेलेर २५ मिलियन र व्यवसायिक विज्ञापनहरुबाट ५ मिलियन डलर आम्दानी गर्छन् । यसैगरी बेल्जियमका केबिन डी ब्रुनेले वार्षिक २९ मिलियन डलर (३ अर्ब ८२ करोड नेपाली रुपैयाँ) आर्जन गर्छन् । ३१ वर्षे ब्रुने म्यानचेस्टर सिटी क्लबका खेलाडी हुन् । उनले फुटबल खेलेर नै २५ मिलियन डलर आर्जन गर्छन् भने व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापनबाट ४ मिलियन डलर आम्दानी गर्छन् ।
खेलाडीहरुमा सानो उमेरमा नै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी क्यालियन एम्बाप्पे हुन् । विश्वभरमा पिएसजी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, र लिभरपुल लगायतका क्लबहबाट खेल खेल्ने खेलाडीहरुले सबैभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । माथि उल्लेखित खेलाडीहरुको सूचीकरण अन्तर्राष्ट्रिय अनलाइन खबर पत्रिका फोर्ब्सले गरेको हो ।
विश्वकप फुटबलले अहिले हरेकको घरघरमा खुशियाली, हर्ष लिएर आएको छ । फिफा वर्ल्ड कपको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा महंगो हो । यो संस्करण आयोजना गर्न कतारले २२० अर्ब डलर अर्थात् २८९ खर्ब नेपाली रुपैयाँ खर्च गरेको अन्तर्राष्ट्रिय अनलाइन पत्रिका फोब्र्सले उल्लेख गरेको छ । यस अघि रुसले १४ अर्ब २० करोड डलर लागतमा फिफा वर्ल्ड कप २०१८ सम्पन्न गरेको थियो । गत संस्करणको तुलनामा यो संस्करण १५ गुणा महंगो रहेको छ ।
फिफा वर्ल्ड कप विजयी हुने राष्ट्र तथा खेलाडीहरुले पाउने पुरस्कार राशी मात्रै ४२ मिलियन डलर अर्थात् ५ अर्ब ५३ करोड २८ लाख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया