राष्ट्र बैंकको ‘ग्रिन सिग्नल’ नपाएपछि बैंकहरुले चलाएनन ब्याजदर

0
Shares

बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर यथावत राखेका छन् । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडकमा उत्रेको अवस्थामा पनि बैंकहरुले नेपाल राष्ट्र बैंकलाई हेर्दै ब्याजदर नचलाएका हुन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदर ८.५ प्रतिशत नै कायम राख्यो । तर, बैंकहरुको कर्जा निक्षेप ब्याजदर अन्तर स्प्रेड ०.४ प्रतिशत विन्दुले घटाएको थियो । उच्च ब्याजदरको चेपुवामा परेका उद्योगी व्यवसायीलाई राहत दिनका लागि केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाको आम्दानी कैची लगाएको थियो ।

केन्द्रीय बैंकले ब्याजदर तत्काल घटाउँदा अर्थतन्त्रलाई थप जटिलतातर्फ लैजाने भन्दै बैंक दरमा परिमार्जन गरेन । केन्द्रीय बैंकले ब्याजदर घटाउन नखोजेको बुझेका बैंकहरुले पनि निक्षेपको ब्याजदरलाई पनि पुरानै रेटलाई निरन्तरता दिने अनौपचारिक सहमती गरेका हुन ।

वित्तीय प्रणालीको अल्पकालिन ब्याजदर घटेको भएपनि बैंकहरुले निक्षेपको ब्याजदरलाई नचलाउनु भनेको राष्ट्र बैंकको नीति अनुसार बैंकहरुले निर्णय लिएको हुन सक्ने एक पुर्व बैंकरले जानकारी दिए । “राष्ट्र बैंकले ब्याजदर घटाउन चाहेको भए मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत बैंक दर घटाउथ्यो,”उनले भने,“बैंकहरुले पनि सोही नीतिलाई समर्थन गर्दै निक्षेपको ब्याजदर नचलाएको स्पष्ट हुन्छ ।” बैंकहरुले पुसको महिनालाई हेर्न खोजेको भनेपनि राष्ट्र बैंकको सिग्नल पर्खेको उनको बुझाई छ ।

अहिले बैंकिङ क्षेत्रको अन्तर बैंक कारोबार दर बैंक दर भन्दा माथि पुगेको थियो । बैंकहरुका निक्षेप थपिने र कर्जा प्रबाह रोकिँदा अन्तर बैंक दर घटेर ६.८६ प्रतिशतमा झरेको छ । त्यसैगरी बैंकहरुले प्रयोग गरेको बक्यौता स्थायी तरलता सुविधा समेत घटेर ४ अर्ब ९५ करोडमा झरेको छ । त्यसैगरी बैंकहरुले दैनिक ६० अर्ब भन्दा धेरै दैनिक तरलता प्रयोग गर्दै आएकोमा मंसिर २७ गते ३ अर्बमा सिमित भएको छ । त्यतीमात्र नभई ट्रेजरी बिल्सको रेट पनि घट्दै आएको छ ।

बैंक वित्तीय संस्थाको मंसिर महिनाको कर्जा निक्षेप अनुपात पनि ८६.३१ प्रतिशतमा झरेको छ । यसले बैंक वित्तीय संस्थाले करिब १९८ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता बैंकहरुसंग रहेको स्पष्ट हुन्छ । तर, उच्च ब्याजदरका कारण बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन । त्यसका साथै बैंकहरुले पुनरकर्जा भुक्तानी अवधि सकिएको र स्थानीय तहको पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाइने व्यवस्था पनि ५० मा झर्ने भएकाले पनि बैंकहरुले कर्जा विस्तारमा जोड पनि नदिएका हुन ।

पुस महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने जानकारी दिदै बैंकर्स संघका प्रमूख कार्यकारी अधिकृत अनिल शर्माले दिए । बैंकहरुले पुस अन्तिममा पुनरकर्जा परिपक्क हुँदैछ, एडभान्स ट्याक्स भुक्तानी गर्नुपर्ने तथा स्थानीय तहको पैसालाई निक्षेप गणना गर्ने पाउने ८० प्रतिशत व्यवस्था घटेर ५० मा झर्ने भएकले पनि पुसको महिनाका लागि ब्याजदर चलाउन उपयुक्त नभएको उनको भनाई छ। “पुस महिनामा बैंकिङ प्रणालीबाट पुनरकर्जा, कर तथा स्थानीय तहको निक्षेप गणनाको व्यवस्था घट्ने हुदाँ करिब २ खर्ब पैसा जाने देखन्छि ,” उनले भने,“ यसले तरलताको अवस्थामा झनै जटिल हुने जोखिम पनि छ ।”त्यसैले पुसमा बैंकहरुलाई तरलताको अवस्थालाई हेरेर माघ महिनामा ब्याजदरलाई चलाउन उपयुक्त हुने उनको बुझाइ छ । मंसिर महिनामा बैंकिङ क्षेत्रमा देखिएको सुधार दिर्घकालिन नहुन पनि सक्ने भएकाले अहिले ब्याजदर चलाउन नहुने उनको तर्क छ ।

बैंकहरुले गत असोजमा ब्याजदर बढाएका थिए त्यसपछि सोही ब्याजदरलाइ निन्तरता दिएका छन् । तर, विकास बैंक र फाइनान्स कम्पनीले भने मंसिर महिनाको ब्याज घटाएका थिए । पुस महिनाका लाथि भने वाणिज्य बैंक मात्र नभई विकास बैंक र फाइनान्स कम्पनीले पनि यथावत राख्ने भएका छन ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र साधारण बचतमा ९.१३३ प्रतिशत रहेको छ । विकास बैंकहरूले निक्षेपमा १२.८५ प्रतिशत ब्याजदर रहेका छ भने संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन । त्यसैगरी वित्त कम्पनीहरूले तीन महिने मुद्दतीको ब्याजदर १३ प्रतिशत र एकवर्षे मुद्दतीको ब्याजदर १३.३० प्रतिशत कायम गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।