कतारका आप्रवासी कामदारलाई क्षतिपूर्ति भुक्तानी गर्न फिफालाई मानवअधिकारवादीको दबाब

0
Shares

कतारले पीडित कामदारको क्षतिपूर्ति भुक्तानी गर्न स्वीकार गरेपछि नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुलापत्र पठाएका छन् ।

पारिश्रमिक बिना नै श्रमिकहरू नेपाल फर्कने र मृतक आप्रवासी श्रमिकहरूको शव नियमित रूपमा नेपाल फिर्ता ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत काठमाडौंका विभिन्न स्थलहरूमा सँगसँगै एम्नेस्टी इन्टरनेसनलले बिलबोर्डमा उक्त सन्देश पनि देखाएको छ ।

उक्त पत्रले कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले भुक्तानी नपाएको तलब फिर्ता पाउने सवालमा कसरी पहुँच प्राप्त गर्न असमर्थ छन् र कसरी आफन्तको मृत्युको कारणको अनुसन्धान नगरिँदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति प्राप्त गर्न नसकेका उल्लेख गरिएको छ ।

श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुव्र्यहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न एक जुट भएको प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम प्रसाद लामिछानेले बताए ।

“कतारमा धेरै श्रमिकहरूले सामना गर्नुपरेको दुर्व्यवहारको वास्तविक मानवीय मूल्य हामीलाई थाहा छ । परिवारहरू गरिबीको चपेटामा परेका छन्, बालबालिका विद्यालयबाट निकालिएका छन् र श्रमिकहरू ऋण तिर्नका लागि फेरी प्रवास जान बाध्य भएका छन् । फिफाले यस वास्तविकताको अनदेखा गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक कार्य गर्नुपर्छ,” उनले भने ।

पछिल्लो समय कतारले आफनो मुलुकको श्रम कानूनमा धेरै सुधार ल्याएको छ । नेपालमा नै कतार भिसा सेन्टर समेत स्थापना गरेको छ ।
कतारले विश्वकपको अन्तिम सिट्टी बजाउँदै गर्दा आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई बिर्सन नहुने एम्नेष्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले बताए । “यदि फिफाले विश्वकपलाई सम्मानजनक बनाउने हो भने पीडित कामदारको परिवारलाई क्षतिपूर्ति रकम भुक्तानी गर्नुपर्छ,” उनले भने ।

सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघ संस्था, ट्रेड युनियन र फुटबल प्रेमीहरूको समूहले पिडित कामदारका परिवारलाई क्षतिपूर्ति भुक्तान गर्न फिफालाई विश्वव्यापी रुपमा नै दबाब दिँदै आएको छ । यद्यपि, फिफाले श्रमिकहरूलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ ।
गत सोमबार अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिने सवालमामा विश्वलाई भ्रमित गरेको भनी फिफाको आलोचना गरेको थियो ।

फिफा अधिकारीहरूले श्रमिकहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्नेसम्बन्धी योजनामा काम गरिरहेको बताइरहेको भए तापनि विश्वकप खेल सुरू हुने पूर्वसन्ध्यामा जियानी इन्फान्टिनोले सो जिम्मेवारीलाई अन्यत्र पन्छाउँदै दुर्व्यवहार भोगेका श्रमिकहरूले कतारको विद्यमान क्षतिपूर्ति कोषबाटै उचित क्षतिपूर्तिका लागि सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुपर्छ भन्ने खालको टिप्पणी दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।