कम्बोडियालाई एडिबीको छत्तीस करोड डलर सहयोग

0
Shares

एशियाली विकास ब्याङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ ।

शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ऋण र अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको बताएको छ । कम्बोडियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री अन पोर्नमोनिरोथ र कम्बोडियाका लागि एडिबीका देशीय निर्देशक ज्योत्स्ना वर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ब्याङ्कले जारी गरेको विज्ञप्तिअनुसार यो वर्ष कम्बोडियालाई ऋण र अनुदान गरी ५७ करोड ६३ लाख अमेरिकी डलर उपलव्ध भएको छ भने १६ करोड ३७ लाख विकासका अन्य साझेदारहरूबाट सहयोग भएको छ ।

कम्बोडियाको सामाजिक–आर्थिक विकासका निम्ति एडिबीमार्फत विकासका साझेदारले उक्त रकम प्रदान गरेका हुन् ।

एडिबीको सहयोगमा कार्यान्वयन हुने परियोजनाले कम्बोडियाको स्वास्थ्य र शिक्षा प्रणालीलाई मानव पूँजी बढाउन, जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न र देशको प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत पुग्ने विश्वास देशीय निर्देशक वर्माले व्यक्त गरेकी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।