युरो क्षेत्रमा ग्यास आपूर्ति गर्न रुस तयार भएको रुसका उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले बताएका छन् ।
रुसको सामाचार एजेन्सी–ताससँगको अन्तर्वातामा नोभाकले यामल युरोप पाइपलाइनबाट युरोपमा प्राकृतिक ग्यासको आपूर्ति गर्ने जानकारी दिएका हुन् । यामल युरोप पाइपलाइन हाल सञ्चालनमा रहेको छैन । रुस–युक्रेन युद्धका सुरु भएको केही महिना पछि नै उक्त पाइपलाइन बन्द अवस्थामा छ ।
रुसको प्रमुख आयस्रोत नै इन्धन निर्यात रहेको छ । युद्ध रोक्नका लागि रुसमाथि दबाब कायम गर्न युरोपियन युनियन अनतर्गतका देशहरु, अमेरिका, बेलायतले रुसी तेलमाथि अनेकन प्रतिबन्ध लगाउदै आएका छन् ।
युरोपमा खपत हुने इन्धन तथा प्राकृतिक ग्यासको ठूलो हिस्सा रुसले आपूर्ति गर्दै आएको छ । युरोपियन देशहरुले रुसी तेलको प्रतिस्थापन गर्न नसकेकै कारण यतिबेला युरोप क्षेत्रमा इन्धन अभावको समस्या व्याप्त रहेको छ ।
अन्तरवार्ताका क्रममा उप प्रधानमन्त्री नाभेकले युरोपमा इन्धन अभावको समस्या यथावत् नै रहँदा रुसले इन्धन आपूर्ति गर्ने अवसर पाएको जनाएका छन् । सन् २०२२को मे महिनामा रुसले इन्धन आयात गर्दा देशहरुले रुबलमा नै भुक्तानी गर्नुपर्ने नीति बनाएपछि पोल्यान्डले रुससँगको तेल आयात सम्झौता रद्द गरेको थियो।
पोल्यान्डले सम्झौता रद्द गरेपछि रुसी तेल बिक्रेता ग्याजप्रमले तेल आपूर्ति कटौती गरेको थियो । त्यसपछि बन्द अवस्थामा रहेको यामल–युरोप पाइपलाइन सञ्चालनमा आएको छैन । तथापि रुस पाइपलाइन सञ्चालनमा ल्याउन सकरात्मक देखिएको छ ।
रुसले टर्की मार्फत पूर्वी युरोपमा तेल आपूर्ति गर्न मिल्ने गरी वार्ता गरिरहेको पनि उनले बताएका छन् । सन् २०२२को ११ महिनामा रुसले युरोप क्षेत्रमा १९.४ बिलियन क्युबिक मिटर लिक्युफाइड प्राकृतिक ग्यास आपूर्ति गरेको र अन्त्य सम्ममा २१ बिलियन क्युबिक मिटर प्राकृतिक ग्यास आपूर्ति गर्ने लक्ष्य लिएको अन्तरवार्तामा बताएका छन् ।
प्रतिक्रिया